Friday, April 10, 2026

सहकारीका प्रमुखमाथि दिनदहाडै गोली प्रहार

ताजा / भरखरै प्राप्त

सर्लाही – सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुखमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ।

लुटेरा समूहले सेवाकेन्द्रका प्रमुख साजन कार्कीमाथि ४ गोली प्रहार गरेका हुन्। आज बिहान करिब साढे १० बजेतिर ३ जनाको समूहमा आएका लुटेराले सेवा केन्द्रको कार्यालयभित्र पसेर प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेका थिए।

प्रतिकार गर्नेबितिकै लुटेरा समूहले आफूमाथि ४ गोली प्रहार गरेको घाईते कार्कीले बताए। गोली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका छन्। लुटेरा समूहले रकम लुटेर लगे कि लगेनन् भन्ने कुरा एकिन भइनसकेको सगुनका अध्यक्ष केशव ढकालले जानकारी दिए।

तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेका घाईते कार्कीको हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि भर्खरै एम्बुलेन्समा काठमाडौं पठाइएको छ। हेलिकप्टर मगाइए पनि कुनै खाली नभएकाले एम्बुलेन्समै पठाइएको हो।

लालबन्दी–२ जुटपानी निवासी कार्कीलाई ४ गोली लागे पनि शरिरको संवेदनशिल भागमा नपरेकाले धेरै खतरा नदेखिएको र उनी बोलिरहेको सरस्वती अस्पतालका सञ्चालक डा। राजीव साहले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles