रौतहट,११ फागुन÷रौतहटको चन्द्रपुरमा रौतहट जिल्लाका पत्रकार तथा सरोकारवालाहरूसँग एक दिने कुष्ठ रोग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लेप्रोसी मिसन नेपाल र चन्द्रपुर नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा सामाजिक विभेदको रुपमा रहेको कुष्ठ रोगको पहिचान, रोकथाम, उपचार प्रक्रिया तथा समाजमा विद्यमान गलत धारणा हटाउने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो । सहभागीहरूलाई कुष्ठ रोग समयमै पहिचान गरी उपचार गरिए पूर्ण रूपमा निको हुने रोग भएको जानकारी दिँदै जनचेतना अभिवृद्धिमा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताइएको थियो । अभिमुखिकरणमा स्वास्थ्यकर्मी, लेप्रोसी प्रभावित, चर्र्चका प्रतिनिधि,अपांगता भएका व्यक्तिहरु,स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमका आयोजकले समुदायस्तरमा सही सूचना प्रवाह गर्दै रोग लुकाउने प्रवृत्ति अन्त्य गर्न पत्रकार तथा सरोकारवालाहरूले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन । सोही कार्यक्रममा यस आर्थीक बर्षको माघ सम्ममा गरुडामा ३ जना १ जनाको पुन रोग बल्झिएको गुजरामा ७ जना चन्द्रपुरमा ३ नया ३ पुरानो, कटहरियामा ४ जना नया जसमा २ जना बालबालिका, गडिमाईमा ३ जना, देबाही गोनाहीमा ५ जना, मौलापुरमा ३ जना बौधिमाईमा १ जना परोहामा ४ जना, राजपुरमा ४ जना, यमुनामाईमा २ जना, दुर्गाभगबतीमा २ जना र राजदेबी नगरपालिकामा १ जना कुष्ठरोगीका बिरामी रहेको प्रस्तुतीकरणमा लेप्रोसी मिशन नेपालका प्रोजेक्ट म्यानेजर अमजद अली मिकरानीले बताउनु भयो । सही समयमा कुष्ठरोगको उपचार भए रोग निको हुने तर लापरवाही गरे अंगभंग समेत हुने जानकारी दिइएको छ । यतिखेर समाजमा कुष्ठरोगका बारेमा सचेतनामूलक कार्यक्रममा स्थानीय तह पछि परेको बताइएको छ । समयमै समाजमा यसका बारेमा जानकारी गराउन सके पीडित अझ पीडित हुनबाट जोगिने बुझाई छ । खासगरी कुष्ठरोग पालिकाहरुको दुर्गम क्षेत्रमा हुने गरेकोले जनचेतनालाई प्राथमिकता दिनुपर्ने सहभागीको भनाई छ । नेपालले सन् २०३० दिगो लक्ष्यप्राप्त गर्नका लागि भएको कार्यक्रमलाई सफल बनाउन सवैको सहयोग आवश्यक रहेको बताइएको छ । वक्ताहरूले कुष्ठ रोगप्रति हुने विभेद र सामाजिक बहिष्कार अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा लेप्रोसी मिसन नेपालका प्रोजेक्ट म्यानेजर अम्जद अली मिकरानी, रौतहट जिल्ला फोकल अफिसर रोशन कुमार साह, पर्साका रामहरी रेग्मी,बाराका दिपेश कुमार यादव लगायतको सहभागिता रहेको थियो ।

