रौतहट खबर सम्वादाता
चन्द्रपुर । बृक्षारोपणको नाममा सव डिभिजन कार्यालय बागमतीले गरेको वृक्षारोपण बालुवामा पानी हाले झै भएको छ । साच्चिकै बागमतीको बगर बालुवामा तारबार मात्र गरेर राखेको अवस्थामा बागमती नदीमा आएको बाढी उक्त वृक्षारोपणको लागि छुट्याएको क्षेत्रमा पसेपछि सो क्षेत्रको सहायक वन अधिकृत सुरेश महतोलाई कमाउने थलो बनेको छ । केही समय अघि जिल्लाको बागमतीमा रहेको दोभान सामुदायीक वन क्षेत्रमा १५ लाखको लागतमा सहायक वन अधिकृत सुरेश महतोले गरेको बृक्षरोपण उक्त क्षेत्रमा नभएपछि उनी आफ्नो करतुत ढोकछोप गर्न लागि परेका छन् । वृक्षारोपण गरेको वन क्षेत्रमा यतिखेर एउटा पनि विरुवा देखिदैन । यतीबेला वृक्षारोपण गरेको क्षेत्रमा एउटा पनि बिरुवा नरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
गत साउन महिनामा करिव १० हेक्टर जमिनमा दोभान सामुदायीक वनको बागमती बगरमा गरिएको बृक्षारोप यतीबेला उजाड बनेको छ । स्थानीयका अनुसार अहिले सो स्थानमा एउटा पनि बिरुवा देखिदैन । बागमती सव डिभिजन वन कार्यालय बागमतीका सहायक वन अधिकृत सुरेश महतोले बागमती बगरमा जानी जानी बृक्षारोपण गरे जस्तो गरेर लाखौ रकम स्वाह पारेको स्थानीय बासिन्दाले बताएकाछन् । सहायक वन अधिकृत महतोले वृक्षारोपण नगरी तारबार मात्र गरेको अवस्थामा बाढी आएपछि उनले यतिखेर बाढीले विरुवा बगायो भनेर जनतालाई झुक्याउन थालेका छन् । सो बापत उनले लाखौ रकम हिनामिना गरेको श्रोतको भनाई छ । उता गत बर्ष चन्द्रपुर नगरपालिका ७ नया बस्तिमा गरिएको बृक्षारोपणमा समेत कुनै बिरुवा नरहेको स्थानीयले बताएकाछन् । हरेक बर्ष बागमतीमा भने महतोले कमाउनकै लागि जानी जानी बिरुवा रोप्ने नाममा राखौ रकम कमाएको एक स्थानीयले बताए ।
उता डिभिजन वन कार्यालय रौतहटमा कार्यरत रहेका एकजना सहायक वन अधिकृतले आफ्नो करतुत लुकाउन तल्लो स्तरसम्म पुगेर पैसाकै अफर गरेपछि उनको करतुत खोज्दै जा“दा राज्यको लाखौैं रकमको दुरुपयोग गरेको पाइएको छ । बागतमी तथा जुडिबेला सव डिभिजन वन कार्यालयको जिम्मेवारी पाएका सहायक वन अधिकृत महतोकै कारण यतिखेर उनको कार्यक्षेत्र भित्र पर्ने सवै सामुदायीक वन उपभोक्ता मारमा परेका छन् । आफ्नो पावर भएकै कारण कसैले केही गर्न सक्दैन भन्दै चोक चौतारामा फलाक्दै हिड्ने गरेका सुरेश महतोका कारण डिभिजन वन कार्यालय रौतहटमा कार्यरत रहेका कर्मचारी समेत आजित बनेका छन् ।`
जिल्लामा सबैभन्दा धेरै सामुदायीक वन उपभोक्ता समिति रहेको जुडिबेला र पौराईका सामुदायीक वनका उपभोक्तालाई समेत सानो तिनो काममा रकमकै अफर गर्ने गरेको श्रोतले जनाएको छ । बिगत लामो समय देखी जुडिेबला र पौराईबाट गाडीमै हुने काठ तस्करीमा समेत सहायक वन अधिकृत महतोको प्रत्यक्ष संलग्न रहदै आएको आरोप लागेका महतोलाई डिभिजन वन कार्यालयले समेत कार्वाही गर्न सकेको छैन् । जुडिबेला र बागमती रहेका सामुदायीक वनको सिफारिस ,लगत प्रमाणित ,बिक्रि सहमती लगाएतका काममा सिफारिस तथा हस्ताक्षर गर्नकै लागि महतोले हरेक सामुदायिक वनलाई सोझै यति पैसा दिए सही गर्छु नत्र हुन्न भनेर भन्ने गरेको बुझिएको छ । सामुदायीक वन उपभोक्ता समितिको गतिबिधिमा सुरेश महतोले असहयोग गर्ने गरेकाले उनलाई त्यहाबाट तत्काल सरुवा गर्नुपर्ने माग स्थानीयको रहेको छ । सामुदायिक वनमा परेको समस्यालाई समाधान गर्ने, सामुदायिक वनमा वृक्षारोपण लगायतका काममा खटिनुपर्ने सहायक वन अधिकृत महतो अधिकांश समय कार्यालय बाहिर बस्ने गरेका छन् । कुनै समय घामडको संज्ञा पाएका महतोलाई कारवाहीको लागि विभागसम्म फाइल पुगेपछि महतोले हारगुहार गरेर आफ्नो जागिर बचाएको उनलाई नजिकबाट चिन्ने एक अधिकृतले जानकारी दिएका छन् ।
केन्द्र सरकार र प्रदेश सरकारमा आफ्नो नाताका मानिस पावरमा भएका कारण कसैलाई टेरपुच्छर नलगाउने महतोले बागमती तथा जुडिवेला सव डिभिजन वन कार्यालयबाट मासिक २ लाख भन्दा बढी उठौती गर्ने गरेको बुझिएको छ । सब डिभिजन वन कार्यालय जुडिबेलाका अधिकृत सुरेश महतोले ९० हजार लिएर गत २०७९ कात्तिक ७ गते चन्द्रपुर–२ जुडिबेलाबाट पुरानो घरको काठ ना २ ख ८७१७ नम्बरको ट्रकमा अन्यन्त्र लैजान मौखिक अनुमति दिए पनि सो काठ ट्रक डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको थियो ।तत्कालिन समयमा घुस लिएर काठ लोड ट्रक जान दिने सहमती दिएका महतोका कारण चन्द्रपुर ८ का ट्रक मालिकको रोजिरोटीनै गुमेको थियो । सो समयमा उनले घुस लिएको अस्वीकार गरे पनि घुस रकम फिर्ता लिन आउने डरले उनी करिव २ महिना कार्यालयनै नआई अयन्त्र लुकेर बसेका थिए । त्यती मात्र नभएर महतोले सामुदायीक वनमा घाटगद्धी गरेर राखेको काठ साना चारचक्के गाडीमा तस्करी गराउन सहयोग गरेको आरोप समेत लाग्दै आएको छ । केही समय अघि नमुना सामुदायिक वन क्षेत्रमा रहेको घाटगद्दी गरि राखेको सखुवाको गोलिया सानो चार चक्के गाडीमा लोड गरि लैजाने लागेको समयमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विनोद चौधरीको नेतृत्वमा पक्राउ गर्न सफल भएपनि उक्त गाडी कसको हो ? काठ तस्करीमा को को संलग्न थिए भनेर चासो लिनुपर्नेमा चासो नलिएपछि सहायक वन अधिकृत महतो तस्करकै कनेक्सनमा रहेको बुझिएको छ । यता स्थानियले महतोको तत्काल सरुवा गर्न माग समेत गर्न थालेका छन् ।

