रौतहट÷ रौतहटको चन्द्रपुर नगरपालिका वडा नं .१ संग सोही वडाका विभिन्न पार्टी, संघ संगठनले संयुक्त रुपमा लिखित रुपमा सुचना माग गरेका छन् । शुक्रवार नेकपा माओवादी केन्द्रका प्रतिनिधि चेत बहादुर खड्का, नेकपा समाजवादीका प्रतिनिधि कुमार यस्माली, रास्वपाका प्रतिनिधि शक्ति कार्कीै, नेपाल मगर संघका प्रतिनिधि जिवन कुमार सुवाल, आदिवासी जनजाति युवा महासंघका जिल्ला अध्यक्ष सेरप सिंह गोले, वैधिक सनातन सेवा समाजका प्रतिनिधि देवी, नेपाल तामाङ घेदुङ संघका सोम बहादुर बम्जनले संयुक्त रुपमा वडा कार्यालयमा पुगेर निमित्त वडा अध्यक्ष हरी बहादुर वाइवालाई लिखित रुपमा पत्रमा उल्लेख गरिएको सूचनाहरु उपलब्ध गराई दिन आग्रह गरेका छन् । उनीहरुले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र चन्द्रपुर नगरपालिकालाई बोधार्थ दिएका छन । वडा नं. १ ले आर्थिक बर्ष २०७८÷०७९ र २०७९÷०८० को योजना तथा बजेट कार्यान्वयनको यथार्थ विवरण उपलब्ध गराउन,वडानं. १ बाट ज्यालादारी कर्मचारीको विवरण सहित पाएको सेवा सुविधाको विवरण,अव्यवस्थित बसोबासको समयमा नापी टोलीले लिएको रकमका विषयमा जनगुनासो आएकोले वास्तविकता प्रष्ट पारि दिन तथा जरुवा र नुनथरको नापी कार्य किन हटाइयो सो बारे जानकारी दिन हुन समेत माग गरिएको छ । साथै बागमती माध्यमिक विद्यालयमा सञ्चालन भएको योजनाहरुको जानकारी दिन, वडा भरी गरिएको ग्रेभल,पानी पिचको सम्बन्धमा सोको लागत इस्टिमेट उपलब्ध गराउन,पौराईमा इसेवा संचालन गर्ने जिम्मेवारी पाएको सजना राईको नियुक्ति बदर गरी ताला लगाइएको बारे जनगुनासो आएको भनेर जवरजस्ती हटाउने काम गरेको र निजले पाउनु पर्ने पारिश्रमिकका बारेमा समेत स्पष्ट माग गरिएको छ । वडा नंं १ संचालन गर्न विनियोजित रकम कुन कुन शिर्षकमा के कति खर्च भएको हो आर्थिक बर्ष २०७८÷०७९ र ०७९÷०८ को विवरण उपलब्ध गराउन तथा बागमती माविको नाममा आएको पुरानो बस के कति र कुन प्रक्रियाबाट ल्याएको हो सोको जानकारी गराउन समेत माग गरिएको नेकपा माओवादी केन्द्रका प्रतिनिधि चेत बहादुर खड्काले जानकारी दिनुभयो । यस सम्बन्ध वडा नं. १ का वडा अध्यक्ष बलराम राउतले बागमती माध्यमिक विद्यालयले गत शैक्षिकसत्रमा अभिभावकसंग गरेको प्रतिबद्धता अनुसार विद्यालयमा बस संचालन गर्ने भनी वडाले रकम समेत छुट्याएर प्रक्रिया अघि बढेको भएपनि बस खरीद प्रक्रियामा केही समय लाग्ने भएपछि विद्यार्थीहरुको माग अनुसार ३ महिनाका लागि मासिक ४५ हजार भाडामा बस लिएर संचालन गरिएको बताउनुभयो । उहाले विद्यार्थी संख्या वृद्धि गर्न, विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर बस संचालन गरिएको बताउनुभयो । वडा अध्यक्ष राउतले पौराईमा रहेको इसेवा जनताको सहुलियतका लागि संचालन गरिएको प्रष्ट पार्नुहुदै इसेवामा कार्यरत कर्मचारीको बाकी रहेको तलवको लागि नगरपालिकामा रकम माग गरिएको बताउनुभयो । यसैगरी बागमती माध्यमिक विद्यालयमा संघीय सांसद देवप्रसाद तिमल्सिनाको योजनाबाट ४ कोठे पक्की भवन निर्माण गरिएको प्रष्ट पार्नूभयो । उहाले निर्माण सम्पन्न भएको भवनमा आगामी आर्थिक बर्षमा रंगरोगन गरिने समेत बताउनुभयो । केही समयअघि सोही विद्यालयमा संचालन गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि विद्यालयमा सौन्दर्यकरण गरिएको प्रष्ट पार्दै विद्यार्थीहरुलाई विद्यालय हाता भित्रै स्वस्थ्य खाने कुरा उपलब्ध गराउन क्यान्टिनको व्यवस्था गरिएको बताउनुभयो । विद्यालय हाता बाहिर रहेको मदिरा विक्री गर्ने स्थललाई हटाएर व्यवस्थित रुपमा विद्यालय संचालन गरिएको बताउनुभयो । अव्यवस्थित बसोबासको नाप नक्सा गर्ने क्रममा स्थानीयवासीले कर्मचारीहरुलाई सामान्य खाजा खुवाएको विषयलाई पहाड बनाएको बताउनुभयो ।
