सुब्बा कार्की
रौतहट ÷रौतहटको चन्द्रपुरमा बुधवार एउटै नम्बर प्लेट भएको दुई वटा इरिक्सा भेटिएको छ । विगत लामो समयदेखि चन्द्रपुर नगरक्षेत्रमा निर्वाध रुपमा संचालन हुदै आएको दुवै इरिक्सा मध्ये कुन इरिक्साको नम्बर सही र कुनको गलत भनेर छुट्याउन समस्या भएको छ । श्रोतले दिएको जानकारी अनुसार ट्रेस कम्पनीको इरिक्साको नमबर प्रदेश २–०३–००१ ह– ७५० रहेको छ भने पाथिभरा कम्पनीको पनि सोही नम्बरको इरिक्सा रहेको छ । बुधवार स्थानीय यातायात व्यवसायी तथा माओवादी केन्द्रका नेता विनोद दुलालले एउटै नम्बरको इरिक्सा देखेपछि प्रहरीलाई खबर गरेका थिए । श्रोतले दिएको जानकारी अनुसार एउटा इरिक्सा सर्लाही जिल्ला गौरीशंकर निवासी उद्धव कुमार खनालको नाममा रहेको छ भने अर्काे इरिक्सा रौतहटको साविक भवानीपुर ९ बस्ने पाहुन महराको नाममा दर्ता रहेको छ । दुवैको ब्लु बुकमा एउटै नम्बर लेखिएको देखिन्छ । तर विगत लामो समयदेखि चन्द्रपुरमा संचालन हुदै आएको दुवै इरिक्साको एउटै नम्बर प्लेटमा संचालन हुदा समेत ट्राफिक प्रहरी राजस्व असुलीमा मात्र केन्द्रित रहेका कारण यस्ता काममा नजर नपुगेको हुन सक्ने स्थानीयको भनाई छ ।
