रौतहट खबर समाचारदाता
रौतहट १० मंसिर । चन्द्रपुर नगरपालिकाको विभिन्न वडाहरु लगायत जिल्लाको अन्य नगरपालिकामा जडान गरिएको टावर लाईटको लाईन नेपाल बिधुत प्राधिकरणले लाइन काटन शुरु गरेको छ । चन्द्रपुर र बृन्दाबन नगरपालिकाले जडान गरेको ६० भन्दा बढि टावर लाईटको लाईन नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुर बितरण केन्द्रले काटिसकेको छ । चन्द्रपुर नगरपालिकाको वडा नं. वडा नं. ४,५,६ का टावरलाइटको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुरका वितरण केन्द्र प्रमुख धिरेन्द्र यादवले जानकारी दिनुभयो । शनिवारसम्म चन्द्रपुरको २१ वटा टावर लाइटको लाइन काटिएको छ । आइवार चन्द्रपुर नगरपालिकाको वडा नं. १,२ मा रहेको टावर लाइटको लाइन काट्न कर्मचारी खटिएको समेत जानकारी दिनुभयो । पछिल्लो समयमा अधिकांश नगरपालिकाहरुले उज्यालो अभियान भन्दै अनुमती विनै सिधै टावर लाइट जडान गर्न थालेपछि नेपाल बिधुत प्राधिकरणका बिभिन्न बितरण केन्द्रले पहिलो चरणमा लाईन काटन थालेको छ । काटिएका लाईन जडान गरी बिधुत उपभोग गरेको पाइएमा लाईट सहित सामान नै जफत गर्ने नेपाल बिधुत प्राधिकरणले जनाएको छ । नेपाल बिधुत प्राधिकरणले हरेक नगरपालिका लाई पटक पटक मिटर जडान गर्न र बक्यौता रकम तिर्न गरेको आग्रह लाई अटेर गरेपछि लाईन काटने अभियानमा प्राधिकरणले अभियान नै संचालन गरेको हो । नेपाल बिधुत प्राधिकरणले कार्तिक मसान्त भित्र सडक बती÷टावर लाईट बाट उठेको महशुल बुझाउन हरेक पालिका लाई सुचना जारी गरेको थियो । दोस्रो पटक मंसिर ६ गते एक साताको समय दिएपनि अबैध जडान गरिएको लाईन काटन थालिएको नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुर बितरण केन्द्रका प्रमुख धीरेन्द्र यादवले बताउनु भयो । नेपाल बिधुत प्राधिकरण, बिधुत महशुल संकलन बिनियमाबली ०७८ को बिनियम १० को प्राबधान बमोजिम गरिएको नेपाल बिधुत प्राधिकरणले जनाएको छ । प्राप्त जानकारी अनुसार चन्द्रपुरमा नगरक्षेत्रमा मात्र करीव ५० भन्दा बढी टावर लाइट जडान गरिएको छ । अझै केही क्षेत्रमा टावर लाइट जडानको क्रममा छ । टावर लाइट जडानको विषयमा पछि अनियमितता भएको जनगुनासो आएपनि नगरपालिकाले जनताको गुनासोलाई वास्ता नगरेको स्थानीयको आरोप छ । करीव ११ मिटर अग्लो टावर लाइटको ४ वटा प्यानल सहितको लाइट लगाउदा बढीमा ७०÷८० हजार पर्ने भएपनि भुक्तानी बढी भएको भन्ने जनगुनासो आएको छ । श्रोतले दिएको जानकारी अनुसार पछिल्लो २ बर्षदेखि २ सय वाटको सोलार प्यानल सहितको वत्ती बजारमा सस्तो मूल्यमा उपलब्ध हुदै आएको छ । ३ बर्ष वारेन्टी सहितको उक्त सोलार वत्ती नगरपालिकाले यस अघि नगरक्षेत्रमा लगाएको वत्तीभन्दा ४ गुणा बढी उज्यालो दिन सक्ने क्षमताको रहेको प्राविधिकको भनाई छ । यतिखेर बजारमा उपलब्ध भएको उक्त सोलार वत्ति बढीमा १० हजारदेखि १२ हजारसम्ममा उपलब्ध हुने भएपनि यसतर्फ नगरपालिकाले खोजी नगरेको तर टावरलाइटमा बढी मुनाफा हुने भएकोले व्यापारीले पालिकालाई गुमराहमा पारेर काम गरेको बुझिएको छ । टावरलाइटमा जडान भएको सामाग्रीको कुनै आधिकारिक डिलर नभएको र अधिकांश सामान भारतबाट मगाएर जडान गर्ने गरेको कारण त्यसको गुणस्तरमा समेत आशंका गरिएको छ ।
