रौतहट खबर समाचारदाता
चन्द्रपुर ÷ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछानेले यतिखेर पार्टीले संगठन निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउनु भएको छ । रौतहटको विभिन्न कार्यक्रममा सहभागी हुन चन्द्रनिगाहपुर आइपुग्नु भएका केन्द्रीय अध्यक्ष लामिछानेले पत्रकार भेटघाट कार्यक्रममा संचारकर्मीले राखेका प्रश्नको जवाफ दिनुहुदै मधेश प्रदेशमा संगठनको अवस्थालाई अझ मजबुद बनाउनकालागि ७ दिने अभियानमा मधेश निस्किएको बताउनुभयो । मधेश प्रदेशमा पार्टीको समितिहरु निर्माणको क्रममा रहेको र अझ जनतासंगै पुगेर जनभावना बुझ्ने सहितको कामका लागि पनि संगठनले मधेशलाई प्राथमिकतामा राखेको बताउनुभयो । यतिखेर पार्टी रणनीतिक रुपमा मधेश केन्द्रित भएको बताउनुहुदै अध्यक्ष लामिछानेले नेता खराब भएका कारण जनताले एकमुष्ट रुपमा व्यवस्था नै खराब भएको बुझेको बताउनुभयो । आम जनताको बुझाईमा लघुवित्त, सहकारी, बैकले गरेको व्यवहारका कारण जनताले विकल्प खोज्न लागेको बताउनुभयो ।
