रौतहट खबर संवाददाता
चन्द्रपुर,०६ मंसिर÷रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ६ को कार्यालय मंगलवारदेखि डावरी चोक नजिक रहेको सार्वजनिक भवनबाट सेवा शुरु गरेको छ । डावरी चोक नजिक शिवको मन्दिर नजिकै रहेको सार्वजनिक भवनमा सोही वडाका ९१ बर्षिय जेष्ठ नागरिक कुन्जर प्रसाद काफ्लेले रिवन काटेर उदघाटन गर्नुभएको हो । उदघाटन पश्चात वडा अध्यक्ष सहदेव के.सीले कार्यालयबाट सेवा शुरु भएको जानकारी दिनुभयो । सोही अवसरमा आफ्नो मन्तव्य राख्नुहुदै वडा अध्यक्ष केसीले वडावासीकै सहमति तथा कार्यपालिकाको निर्णय अनुसार वडा कार्यालय स्थान्तरण गरिएको बताउनुभयो । वडा कार्यालयबाट वडाबासीले सेवा पाउने भएकै कारण आफुले राजनीति पार्टी भन्दा पनि वडावासीबाट नै कार्यालयको उदघाटन गरिएको बताउनुभयो । वडाबासीको सहजताका लागि वडा कार्यालय नया भवनमा सारिएकाले यसका विवाद गर्नुको तुक नरहेको बताउनुभयो । वडाकै केही सदस्यहरु तथा केही स्वार्थमा लागेकाहरुले अनावश्यक बखेडा झिकेर यसलाई राजनीतिकरण गर्न खोजेपनि जनताकै इन्छा अनुसार सारिएको वडा कार्यालयबाट दिने सेवा सुविधामा कुनै कमी नहुने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । आफुले व्यतिmगत घर नबनाएको उल्लेख गर्दै वडा अध्यक्ष केसीले जमिनको संरक्षण गर्नका लागि पनि वडा भवन बनाईएकोे उहाको जिकिर छ । अव यसलाई व्यवस्थित बनाउन तर्फ वडाबासी अग्रसर हुनु पर्ने उहाले सुझाव दिनुभयो । यदी वडा भित्रको अन्य स्थानमा कार्यालयको लागि उपयुक्त जमिन भेटिए भवन निर्माण पश्चात सोही स्थानबाट वडा कार्यालय संचालन गर्ने समेत उहाले प्रतिबद्धता गर्नुभयो ।
यस अघि वडा कार्यालय रहेको भवन अपायक तथा बजार क्षेत्र भएकाले धुलो, धुवा तथा दुर्घटनाको जोखिमका साथै अपांग मैत्री नभएकोले यसलाई अपांग मैत्री बनाउने काम समेत भइरहेको बताउनुभयो । वडा अध्यक्ष के.सीले आफनो घर कार्यालयबाट नजिकमा परेपनि यसका कुनै किसिमको स्वार्थ भने नरहेको बताउनुभयो । उहाले वडा तथा नगर कार्यपलिकाबाट भएको निर्णयलाई कार्यान्वयन गरेकाले भ्रममा नपर्न सवैलाई आग्रह गर्नुभयो । वडा कार्यालयले मंगलबारबाट सेवा प्रवाह थालिसकेकाले अव सेवाग्राहीहरुलाई आवश्यक पर्ने फोटोकपी तथा निवेदनको लागि वडा कार्यालयले नै निशुल्क उपलब्ध गराउने घोषण समेत सोही अवसरमा गर्नुभयो । सो कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रवी राना मगर, वडा सदस्य विनोद सिटौला, महिला अधिकारकर्मी देवकी नेपाल, संचारकर्मी तथा वडाबासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
यता चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले कार्यपालिकाको एकल निर्णय भन्दै एक विज्ञप्ति मार्फत वडा नं. ६ को वडा कार्यालय साविककै स्थानमा संचालनस गर्न वडा कार्यालयलाई पत्र पठाएको जानकारी दिएको छ । नगर प्रमुख संजय कुमार काफ्लेको एकल कार्यपालिका बैठकको निर्णय नं. १ को क, ख र ग बमोजिमको निर्णय कार्यान्वयन लागि मंगलबार देखि नै साविकको बमोजिम नै वडा कार्यालय संचालन हुने गरी प्रक्रिया अघि बढाउन पत्रमा भनिएको छ । तर चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले पूर्ण कार्यपालिकाको बैठकबाट गरिएको निर्णयलाई लात हान्दै एकल निर्णय गरि वडा कार्यालय पुरानै स्थानबाट संचालन गर्न भनि लेखिएको पत्रले सम्पूर्ण कार्यपालिका सदस्यहरुलाई वाइवास गर्दै पावरफुल मेयरको अनुभुति देखाएको स्थानीयको भनाई छ । यदि एकल निर्णयबाट कुनै काम गर्न सकिने भए किन कार्यपालिका सदस्यहरुलाई राखेर निर्णय गराउनु ? एक्लै आफुखुसी गरे भै गो नि ? स्थानीय विनोद दुलालको आक्रोश पोख्नुभयो । होइन भने पूर्ण कार्यपालिकाको बैठकबाट गरिएको निर्णय, जसमा नगरप्रमुख आफैले हस्ताक्षर गरेर गरेको निर्णय आफैले बेठीक छ भन्दै एकल निर्णय गर्नु समाज हसाउने काम मात्र भएको दुलालको भनाई छ ।

