Friday, April 10, 2026

नुनथरको आय÷व्यय सार्वजनिक गर्न स्थानीयको माग,राजनीतिक प्रतिशोधले नुनथर डुब्यो

ताजा / भरखरै प्राप्त

रौतहट खबर समाचारदाता
चन्द्रपुर ÷ रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मा रहेको नुनथर क्षेत्र विकास समितिले विगत लामो समयदेखि आय÷व्यय सार्वजनिक नगरेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । विगत लामो समयदेखि नुनथर क्षेत्र विकास समितिले नुनथर धार्मिक पर्यटकीय क्षेत्रको आय÷व्ययको हिसाव किताव स्थानीयवासी समक्ष सार्वजनिक नगरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । नुनथर क्षेत्र विकास समितिमा स्थापना कालदेखि नै नेकपा एकीकृत समाजवादीका नेता एवम् पुर्व सभासद रामकुमार भट्टराई रहदै आएका छन् । खास गरी सो क्षेत्रको विकासको लागि हालसम्म करोडौ रकम आएपनि नुनथर क्षेत्रको खासै विकास हुन सकेको छैन । यतिखेर चन्द्रपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बलराम राउतले समेत विगत लामो समयदेखि नुनथर क्षेत्र विकास समितिले आय÷व्यय सार्वजनिक नगरेको स्वीकार गरेका छन् । नुनथर क्षेत्र विकास समिति कसरी चलेको छ ? मलाई नै थाहा छैन । लामो समयदेखि एकै व्यक्तिले समिति चलाएको छ ? यो कानुन सम्मत रहेको छ कि छैन ? नुनथर क्षेत्रको विकास कति भएको छ ? यसको सार्वजनिक लेखा परिक्षण समेत नगरेपछि वडावासीले समेत आफुलाई नै स्पष्टिकरण सोध्ने गरेको गुनासो समेत वडा अध्यक्ष राउत गरेका छन् । रौतहटको जिल्लाको सानको रुपमा रहेको नुनथर क्षेत्रको बर्षाैदेखिको हिसाव किताव अहिलेसम्म सार्वजनिक नगरेको भन्दै वडावासीले समेत वडा अध्यक्ष राउतलाई चेतावनी दिएका छन् । मंगलवार वडावासीका साथ वडा अध्यक्ष बलराम राउत चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्ले सक्षम डेलिगेशन गएका थिए । केही संख्यामा आएका वडावासीले नगरप्रमुख काफ्लेलाई समेत नगरपालिका क्षेत्र भित्र रहेको नुनथर क्षेत्र विकास समितिले बर्षाैदेखि सार्वजनिक नगरेको आय÷व्ययका बारेमा समेत जिज्ञासा राखेका थिए । वडावासीले नगरप्रमुख काफ्लेलाई तत्काल नुनथर क्षेत्र विकास समितिको हिसाव किताव सार्वजनिक गर्न, नुनथर क्षेत्रलाई पार्टीको भन्दा पनि नगरको धार्मिक पर्यटकीय क्षेत्र बनाउने काम गर्न, नुनथर क्षेत्र विकास समिति भित्र बनेका अवैद्य घरटहरालाई हटाई व्यवस्थित बनाउन, नुनथर क्षेत्रलाई व्यवस्थित बनाउने काममा नगरपालिकाले नुनथर क्षेत्र विकास समितिलाई तत्काल पत्राचार गरी छलफल गर्न आग्रह गरेका थिए । नुनथर क्षेत्र विकास समितिवडावासीको आग्रहलाई सम्बोधन गर्ने क्रममा चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय कुमार काफ्लेले नुनथर क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार भट्टराईसंग आफ्नो कार्यकाल अघिकै समयमा सहमतिका लागि प्रयास भएपनि असफल भएकोले अव पुन आफुले कानुुन सम्मत तरिकाले छलफल अगाडि बढाउने कामका लागि कानुनी सल्लाह भइरहेको बताउनुभयो । वारम्बार छलफल गर्न तथा आय÷ व्यय सार्वजनिक गर्न वडावासीले आग्रह गर्दा समेत अटेर गरेको देखिएकोले यसलाई कानुन सम्मत तरिकाले समाधान गर्न नगरपालिकाले कदम चाल्ने बताउनुभयो । नुनथर क्षेत्रलाई अझ व्यवस्थित र यस क्षेत्रको विकासको लागि नगरपालिकाको वृहत योजना बनाउदै अगाडि बढ्ने लक्ष्य राखेको भएपनि नुनथर क्षेत्र विकास समिति मार्फत संचालित नुनथरक्षेत्रमा आर्थिक अनियमितता नहोस् भनेर नगरपालिकाले कर्मचारी समेत खटाएको जानकारी दिनुभयो । नगरप्रमुख काफ्लेले अहिले नुनथर क्षेत्रमा संचालित पिंग, डुंगा लाई व्यवस्थित रुपमा संचालनका लागि नुनथर क्षेत्र विकास समिति र नगरपालिका बसेर निर्णय गर्नूपर्ने देखिएकोले केही दिन भित्रै समस्या समाधान हुनेमा आफु आशावादी रहेको बताउनुभयो । नुनथर क्षेत्र विकास समिति र चन्द्रपुर नगरपालिका वीच आम्दानीको ६०÷४० प्रतिशत रकम लिने सहमति भएपनि नुनथर क्षेत्र भित्र यतिखेर व्यापक फोहर भएको गुनासो आएको छ । सरसफाई, खानेपानी, विजुलीको व्यवस्था नभएपछि पिकनिकको नाममा ठूलो रकम असुल गरे पनि सुविधा भने केही नदिएको गुनासो आएको छ । नगरपालिकाले गत आर्थिक बर्षमा नुनथर क्षेत्र विकास समितिलाई टेण्डर मार्फत दिएपनि यस पटक भने सातौ पटक समेत टेण्डर कसैले पनि नलिएपछि नगरपालिकाले यतिखेर कर्मचारी राखेर रकम उठाउदै आएको छ । गत बर्ष करीव ३१ लाखमा नुनथर टेण्डर लागेको भएपनि यस पटक भने कसैले पनि चासो नदेखाएको चन्द्रपुर नगरपालिकाका मेयर संजय कुमार काफ्लेले बताउनुभयो । नगरपालिकाले टेण्डर लगाउदै आएको अन्य ठेक्कामा समेत यतिखेर टेण्डर लाग्न नसकेको स्वीकार गर्नहुन्छ । विविध कारणले यतिखेर टेण्डरमा आकर्षण नभएपनि नगरपालिकाले पटक पटक सूचना प्रकाशित गरि टेण्डर आव्हान गर्दै आएको छ । उता नुनथर क्षेत्र विकास समितिका सदस्य समिर बाबु कार्कीले भने चन्द्रपुर नगरपालिका तथा वडा कार्यालयकै कारण नुनथर क्षेत्र विकास समिति यतिखेर लथालिंग भएको आरोप लगाउनु भएको छ । नुनथरमा नियमित सरसफाई गर्ने कर्मचारीको विगत ५ महिनादेखिको तलव उपलब्ध नगराएको कारण कर्मचारीहरु समेत अन्यायमा परेको बताउनुभयो । विगतका बर्षहरुमा उपभोक्ता समिति मार्फत गरिएको कामको सम्पूर्ण भुक्तानी भइरहेको र काम गुणस्तरीय भएको नगरपालिकाले नै प्रमाणित गरेको कारण भौतिक पुर्वाधारको काममा कुनै अनियमितता नभएको प्रष्ट पार्नुभयो । समितिले कोरोना कालपछिको एक बर्ष शुल्क उठाएको भएपनि त्यसको हिसाव किताव समिति निर्णय सहित नगरपालिकामा बुझाएको बताउनुभयो । सदस्य कार्कीले यतिखेर नगरपालिकाले कर्मचारी राखेपछि व्यापक अनियमिता भएको आरोप लगाउनुभयो । उहाले यतिखेर चन्द्रपुर नगरपालिकाले २ जना, वडा अध्यक्षले ३ जना कर्मचारी दैनिक नुनथरमा खटाएर पुर्जी काटेको भएपनि पुर्जी काट्ने समयमा समेत आर्थिक हिनामिना गरेको आरोप लगाउनुभयो । उहाले पिकनिक आउने समूहसंग १ हजार लिने गरेपनि कार्वन हटाएर ५०÷१०० लेख्ने गरेको प्रमाण आफुसंग रहेको बताउनुभयो । यतिखेर नगरपालिका र वडाका कर्मचारी मोटाउने गरि काम भइरहेको र समितिलाई नगरपालिकाले विगत ५ महिनादेखि उठाएको रकमको हिसाव किताव समेत सार्वजनिक नगरेकोले उल्टै नगरपालिकाले आर्थिक हिनामिना गरेको आशंका रहेको बताउनुभयो । राजनीतिक प्रतिशोधकै कारण नुनथर क्षेत्र विकास समितिले चाहेर पनि काम गर्न नसकेको कार्कीको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles