चन्द्रपुर । सहकारी ऐन, कर तथा कानुन सम्बन्धी रौतहटमा दुई दिने अभिमुखीकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
रौतहट बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा आर एण्ड डि कर्पोरेट बिजेनेस कन्सल्टिङ प्रा।लिको प्राविधिक सहयोगमा होटल आरोहीको सभाहलमा भएको दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो समय देशभरका विभिन्न सहकारीमा बढ्दै गएको व्यथिति र खराब कर्जाका कारण सहकारीहरू मारमा पर्दै जानु र बचतकर्ताको समेत बचत जफत हुने गरेको कुरा मध्यनजर गर्दै यो अभिमुखीकरण कार्यक्रम गरिएको रौतहट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भिबु पोखरेलले जानकारी दिए । कार्यक्रमका अध्यक्षता समेत गरिरहनुभएका अध्यक्ष पोखरेलले सहकारीहरूलाई समयमै कर तिर्नसमेत आग्रह गरेका हुन् । उनले रौतहटको १८ वटै पालिकामा रहेको सहकारी संस्थालाई सक्रिय बनाउने बताए । दर्ता भएर पनि निष्कृय रहेका जिल्ला भित्रका हरेक सहकारीलाई सक्रिय बनाउने तर वचतकर्ताको बचत सुरक्षित गर्नका कुनै कसर बाकी नराख्ने बताए ।
सोही कार्यक्रममा बोल्नुहुँदै रौतहट बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ सल्लाहकार ठाकुरप्रसाद उपाध्यायले सहकारी एक सेवा भएकोले त्यसलाई कमाई खाने भाडो नबनाउन आग्रह गरे । उनले सहकारीमा परिमार्जन भएको निति,नियम, कानुनलाई अक्षरस पालना गरेर अगाडि बढी सहकारी कहिलेपनि धारासायी नहुने बताए । उनले ऋण लगानी गर्दा सहकारी ऐन २०७४ अध्ययन गरेर मात्र ऋण लगानी गर्न उनले आग्रह गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका सहकारी शाखाका प्रमुख नसरे आलमले चन्द्रपुर नगर क्षेत्रभित्रका सहकारीहरूलाई नगरपालिकाले विभिन्न किसिमका कार्यक्रम तथा तालिमहरूको लागि सहकारीलाई अभिप्रेरित गरेको बताउदै सहकारीले गर्ने गतिविधिले उसको भविष्य निर्धारण गर्ने बताए । चन्द्रपुर नगरपालिकाले यसै आर्थिक वर्षमा सहकारीहरूको लागि विभिन्न कार्यक्रम समेत राखेको उनले बताए ।
कार्यक्रममा बोल्दै नव विकास बचत तथा ऋण सहकारी संस्थाका सचिव राजेन्द्र तिवारीले सहकारीले समयमै कर तिर्नुपर्ने बताएका छन् । कमाएको रकमबाट कर समयमै तिर्न उनले आग्रह समेत गरे । उनले करले सात पुस्तालाई नछोड्ने भएकोले कर समयमै तिर्न समेत आग्रह गरे ।
यस्तै राष्ट्रिय सहकारी बैंक चन्द्रपुर शाखाका प्रमुख रुपा थापाले सहकारीलाई हरबखत सहकारी बैंक सहयोग गर्न तयार रहेको बताइन् ।
दुई दिने अभिमुखीकरण कार्यक्रममा रौतहटका करिब २५ वटा सहकारीहरूको सहभागिता रहेको थियो ।
सहकारी ऐन कर तथा कानुनसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको सहजकर्ता सीए धीरज कोइराला रहेको थियो भने कार्यक्रम चन्द्रोदय सहकारी संस्थाका अध्यक्ष बसन्त आचार्यले सञ्चालन गरेका थिए । कार्यक्रममा सहभागी सबैजनालाई प्रमाणपत्र वितरण गरिएको छ ।

