काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज तेश्रो पटक विश्वासको मत लिंदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग सत्ता साझेदारी गरेपछि कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डलाई उनको पार्टी माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नाउपा लगायत दलले समर्थन गर्न ह्वीप जारी गरेका छन् । नाउपाका नेता रेशम चौधरीले भने सरकारलाई समर्थन नदिने भन्दै विज्ञप्ति निकालेका छन् भने पार्टीका अध्यक्ष उनकै श्रीमति रन्जिताले वर्तमान सरकारलाई विश्वासको मत दिन पार्टीलाई ह्वीप जारी गरेका छन् । कांग्रेस, राप्रपा, लोसपा, जनमत, नेमकिपा र राष्ट्रिय जनमोर्चा भने विपक्षमा छन् ।
