रौतहट÷ रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ५ थलहीटोलका १ सय १० जना विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा रौतहट जिल्ला क्षेत्र नं. ४(१) का मधेश प्रदेश सभा सदस्य,पुर्व मन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य युवराज भट्टराई(समिर)ले टिका,माला तथा खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ । पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुदै प्रदेश सभा सदस्य भट्टराईले जनताले माओवादी केन्द्रलाई विश्वास गरेकै कारण पार्टीले जनताको कामलाई प्राथमिकता दिएको बताउनुभयो । आफुले सदैव जनताको शिक्षा,स्वास्थ्य,पुर्वाधार लगायतका कामलाई प्राथमिकताका साथ अगाडि बढाएको र जनताले यसको प्रत्यक्ष उपभोग गर्न पाएकोमा आफु खुसी भएको बताउनुभयो । उहाले पार्टीले संविधान निर्माणका क्रममा दलित,उत्पीडित वर्गको प्रतिनिधित्व गर्दै संविधान निर्माण गरेपनि कार्यान्वयन गर्ने निकायले उपेक्षा गरेका कारण अझै संविधानले दिएको अधिकार उपभोग गर्न नपाएको अवस्थामा अव पार्टी बलियो बनाउने काममा जनताको पूर्ण साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाले पार्टीले आदिवासी,जनजाति,मुस्लिम समुदायको पक्षमा लड्दै आएको अवगत गराउनुहुदै यस पार्टीमा आउनु भएको स्वागत गर्नुभयो ।
माओवादीले संविधानमा सुनिश्चित गरेको अधिकार जनताले कसले दिलाएको हो भन्ने कुरा बुझाउन नसक्नु कमजोरी रहेको स्वीकार गर्नुभयो । हामी सधै पिछडिएको समुदायमा पुगेर जनताको समस्या समाधानका लागि पहल कदमी गरिरहेकोले पार्टी प्रति जनताको आकर्षण बढेको बताउनुभयो । निरन्तर जनताको घर दैलोमा समस्या बुझ्न गएकै कारण जनताको माओवादी केन्द्र प्रति आकर्षण बढेको बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय लेखा समिति सदस्य एकराज थापा, पार्टीका नेता तथा संविधान सभा सदस्य देवेन्द्र पटेल, पार्टीका पुर्व प्रदेश कमिटी सदस्य राजु धामी, वडा नंं २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ, वडा नं. ३ का वडा अध्यक्ष बोधनाथ देवकोटा(रवि), वडा नं. ६ का वडा अध्यक्ष सहदेव के.सी., पार्टीका नगर अध्यक्ष टिका बहादुर आचार्य,उपाध्यक्ष चेत बोलखे, ध्रुव घिमिरे, राजेश साह,विनोद दुलाल,विक्की पाण्डे लगायतको उपस्थिति रहेको थियो । पार्टी प्रवेश कार्यक्रममा नेपाली काग्रेसको क्रियाशिल सदस्य श्याम किशोर राई, राप्रपा नेपाल वडा नं. ५ का वडा अध्यक्ष प्रत्यासी भोला चौधरी लगायत १ सय १० जना पार्टी प्रवेश गरेको पार्टीका वडा नं. ५ का अध्यक्ष शंकर सुवेदीले जानकारी दिनुभयो ।

