सुब्बा कार्की
रौतहट,२९ माघ÷ रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको नमुना सामुदायिक वन उपभोक्ता समूहले कटान गरी घाटगद्दी गरि राखेको काठमा भिषण आगलागी भएको छ । गाउ नजिककै रहेको खाली जमिनमा घाटगद्दी गरिराखेको अवस्थामा आगजनी भएको हो । आगजनीबाट करीव ८ हजार क्युफिट काठ नष्ट भएको नमुना सामुदायिक वन उपभोक्ता समूहका सचिव ललिता चौधरीले जानकारी दिनुभयो । आगजनीको खबर समयमै डिभिजन वन कार्यालय,चन्द्रपुर नगरपालिका लगायतका सम्बन्धित निकायमा गराएपनि चासो नदिएको गुनासो उहाको रहेको छ । नमुना सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरुले समेत आगो निभाउनमा सहयोग नगरेको देखिएको छ ।

६÷७ घण्टादेखि लागिरहेको आगो निभाउन चन्द्रपुर नगरपालिकाको बारुणयन्त्रलाई भनेपनि बारुणयन्त्र विग्रिएको भन्दै नगरपालिका पन्छेको उनको भनाई छ । केही समयदेखि डिभिजन वन कार्यालयको ट्याङकरले आगो निभाइरहेको भएपनि भर्खरै निजगढ नगरपालिकाबाट बारुणयन्त्र आएर आगो निभाउने काम गरिरहेको बुझिएको छ । आगलागीबाट करीव १ करोड मूल्य भन्दा बढीको काठ जलेर नष्ट भएको पौराई सव डिभिजन कार्यालयका प्रमुख बालकिशोर सिंहले जानकारी दिनुभयो । यस अघि पनि उक्त सामुदायिक वन उपभोक्ता समूहमा २ पटक आगजनी भइसकेको छ । विगतको आगलागी र यस पटकको आगलागीको प्रकृति एकै किसिमको भइएकोले आगो जानीजानी लगाइएको हुन सक्ने आशंका गरिएको छ । आगो निभाउन शसस्त्र प्रहरी, नेपाल प्रहरी, केही स्थानीय, वनका कर्मचारीको उपस्थिति रहेको थियो । आगोले ठूलो क्षेत्रमा नोक्सानी पु¥याएकोले थप क्षतिको विवरण आउन बाकी रहेको छ । नमुना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विनोद चौधरी लामो समयदेखि समुहमा उपस्थिति नभएका कारण समूहको गतिविधि शुन्य भएको छ । समूहको अडिट लगायतका कार्य समेत नभएकोले समूह यतिखेर निष्क्रिय भएको छ ।

