रौतहट खबर सम्वाददाता
चन्द्रपुर,१४ कार्तिक÷ निर्वाचनको मिति नजिकिदै गएपछि यतिखेर उम्मेदवारहरुलाई मतदाताको घरसम्म पुग्न भ्याईनभ्याई भएको छ । उम्मेदवारले सवै मतदाताको घर दैलो पुग्न नभ्याउने अवस्था आएपछि तालिका बनाएर मतदाताको घरदैलोसम्म पुग्ने समय निकालेका छन् । सवैभन्दा बढी मतदाताको घरदैलो सम्म पुग्ने उम्मेदवारका रुपमा रौतहट क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बाम गठबन्धनमा साझा उम्मेदवार नेपाली काग्रेसका देव प्रसाद तिमल्सिना र क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य उम्मेदवार युवराज भट्टराई(समिर) देखिएका छन् । दुवै उम्मेदवारहरु विहानदेखि अवेर रातीसम्म मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । तिहार,छठको समयमा समेत अनुकुल मिलाएर छठघाटसम्म पुगेर त्यहा उपस्थित भएका ब्रतालुसंग समेत छठको शुभकामना दिन भ्याएका थिए भने छठ सकिए लगत्तै मतदाताको घरदैलोलाई अझ तिव्र बनाएका छन् । मतदाताको घरदैलो गर्ने क्रममा सोमबार चन्द्रपुर नगरपालिका वडानं. ९ को नजरपुल लगायत विभिन्न टोलहरुमा पुगेर घरदैलो सम्पन्न गरेको चुनाव प्रचार प्रसार समितिका संयोजक सुमन गौतमले जानकारी दिनुभयो । नजरपुरस्थित प्रसिद्ध श्रीकृष्ण प्रणामी मन्दिरको दर्शन पश्चात शुरु भएको घरदैलो कार्यक्रममा मतदाताहरु समेत विकासप्रेमी नेताहरु आफ्नो घरदैलोमा आएको देख्दा खुसी लागेको स्थानीय सीता चौलागाईले बताउनुभयो । अन्य नेताहरुले आश्वासन दिएपनि देवप्रसाद तिमल्सिनाले जनताकै लागि काम गरेको उदाहरण यस क्षेत्रको विकासले प्रष्ट पारेको बताउनुभयो । भनेर भन्दा गरेर देखाउने नेताको रुपमा चिनिने तिमल्सिनाको विकल्प नरहेको उहाको भनाई छ । त्यसैगरी प्रदेश सभा सदस्य उम्मेदवार युवराज भट्टराई(समिर) युवा, जोश जागर भरिएको र राजनीति पहुच समेत भएका कारण अव रौतहटको विकासका लागि उहाहरुको जित आवश्यक रहेको अर्का मतदाता पार्वती दाहालले बताउनुभयो । सो क्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद तिमल्सिनाले आफु जहिले पनि जनताकै लागि काम गरिरहेको स्पष्ट पार्नुहुदै अव पनि यसक्षेत्रको समग्र विकास गर्न तथा शिक्षा,स्वास्थ्य,रोजगारीका लागि कलकारखाना स्थापनाका लागि विभिन्न निकायसंग समन्वय गरी रोजगारी श्रृजना गर्ने बताउनुभयो । प्रदेश सभा सदस्यका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य युवराज भट्टराई(समिर)ले अव रौतहटको विकासका लागि आफुले जिते उद्योग संचालनका लागि पहल गर्ने बताउनुभयो । उहाले रौतहट पर्यटन,उद्योगको सम्भावना बोकेको ठाउ भएकोले यसलाई स्थापना गर्नका लागि आफुले पहल गरिरहेको र निकट भविष्यमा रौतहटमा उद्योग स्थापना हुने बताउनुभयो । मतदाताको घरदैलो कार्यक्रम तल्लो सिन्दुरेधारीमा समेत भएको थियो ।
