रौतहट खबर समाचारदाता
चन्द्रपुर,२८ चैत्र÷ रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ३ गैडाटार जाने बाटोमा पर्ने चादी नदीमा निर्माणाधिन पुलको निर्माण कार्य सुस्त रुपमा अगाडि बढेपछि चन्द्रपुर नगरपालिका वडा नं. ३ का वडावासीहरु चिन्तित भएका छन् । आगामी असारसम्ममा पुलको माथिल्लो भाग ढलान सकिने लक्ष्य राखेर काम गर्न केही दिन अघि सहमति भएपनि ठेकेदार कम्पनीले कामलाई निरन्तरता नदिएका कारण आवातजावत गर्न कठिनाई हुने संकेत देखिएको हो । चन्द्रपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बोधनाथ देवकोटा(रवि)ले डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरलाई ध्यानाकर्षण गराइएको सम्बन्धमा एक पत्र लेखी चन्द्रपुर नगरपालिका वडानं. ३ मा निर्माणाधिन चादी पुल निर्माणमा भएको ढिला सुस्तीको कारण वडा नं. ३ का बासिन्दाले बर्षायाममा अनेकौ सास्ती पाउनुका साथै ज्यान धनको समेत नोक्सानी भएको अवगत गराएको छ । सो ध्यानाकर्षण पत्रमा बारम्बार डिभिजन प्रमुख र ठेकेदार राखी वार्ता छलफल हुदा सम्झौताको १० प्रतिशत पनि कार्यान्वयन नभएकोले कतै डिभिजन प्रमुखकै संलग्नतामा ठेकेदारसंग अनुचित लाभको साठगाठ त छैन भन्ने आसय सहितको ध्यानाकर्षण पत्र बुझाईएको थियो । सो ध्यानाकर्षण पत्रमा २०७९ फागुन ९ गतेसम्ममा पुल निर्माण स्थलमा दुवैतर्फ कामदार राखी पुललाई आवश्यक पर्ने सामाग्री पर्याप्त राखी निर्माण तिव्र गतिमा संचालन नभए वडा कार्यालयको नेतृत्वमा सडक डिभजिन कार्यालयबाट हुने सेवा बन्द गराई राजमार्गमा रिले अनसनमा बस्ने निर्णय गरेको अवगत गराउदै ध्यानाकर्षण पत्र डिभिजन सडक कार्यालयलाई बुझाइएको थियो । सोही ध्यानाकर्षणपछि २०७९ फागुन १० गते सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, शिव शंकर कन्स्ट्रक्सनका प्रतिनिधि तथा चन्द्रपुर नगरपालिका वडा नं. ३ का प्रतिनिधि लगायत स्थानीयवासीको उपस्थितिमा पुल निर्माणस्थलमै बसी भएको सहमति अनुसार चैत्र मसान्त भित्र ११ नं. को स्पानको ढलान सक्ने, वैशाख मसान्त भित्र ३ नं. स्पान ढलान गर्ने, जेष्ठ मसान्त भित्र २ नं. स्पान ढलान गर्ने र १ नं. स्पान असारको पहिलो हप्ता भित्रमा ढलान कार्य सम्पन्न गर्ने साथै चैत्रको पहिलो हप्तादेखि रेलि· एप्रोच रोड डिप स्ल्याप फिनिसि· कार्य संचालन गर्न कामदार लगाई निर्माण कार्यलाई तिव्रता दिने भनि सहमति भएकोपछि तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको वडा अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । साथै सोही सहमति अनुसार तोकिएको समयमा संचालन र निर्माण कार्य उल्लेखित समयमा सम्पन्न नभएको खण्डमा सोही सहमतिलाई आधारमानी ठेक्का रद्द गरी नया ठेक्का प्रक्रिया अगािड बढाउने सहमति भएको थियो तर ठेकेदार कम्पनीले विभिन्न बहानामा काम स्थगित गरेपछि स्थानीयहरु समयमा पुल निर्माण नहुने भएका कारण चिन्तित भएका छन् । यस बारे डिभिजन सडक कार्यालयका प्रमुख दरोगा प्रसादसंग बुझदा ठेकेदार कम्पनीले काममा ढिलाई गरेको र स्थानीयको दवाव बढेका कारण ठेकेदार कम्पनीलाई बारम्बार ताकेता गर्दा समेत वास्ता नगरेका कारण वैशाखको पहिलो साता ठेकेदार कम्पनीलाई कारवाहीको सूचीमा राखी ठेक्का रद्द गर्ने सूचना प्रकाशित गरिने जानकारी दिनुभयो ।
