सुब्बा कार्की
रौतहट ÷ रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ३ ले गाईबस्तुलाई लाग्ने लम्प स्क्रीन रोग विरुद्धको भ्याक्सिनेसन कार्य सम्पन्न गरेको छ । नगरपालिकामा सवैभन्दा पहिले वडा नं. ३ ले लम्प स्क्रीन रोग पहिचान गरेर भ्याक्सिनेसन कार्य शुरु गरेको हो । नगरक्षेत्रमा रोग अतिक्रमण बढ्ने थालेपनि नगरपालिकाको नगर कार्यपालिकाले रोग रोकथामका लागि पहल गर्दा ढिलो हुनेभएपछि वडा नं. ३ ले आफ्नो वडाको पशु शाखा केन्द्रलाई औषधि खरिदका लागि छुट्याइएको बजेटबाट भ्याक्सिन किनेर पशुलाई रोग विरुद्ध सुई लगाउने कार्य गरेको चन्द्रपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बोधनाथ देवकोटा(रवि)ले जानकारी दिनुभयो । उहाले वडा नं. ३ मा ३९३ वटा र्भैसी, ५८२ वटा पाडा, २६२ वटा पाडी, ३२६ वटा गाई, १२४ वटा बाच्छा र १५७ वटा बाच्छी गरी १८ सय ४४ वटा पशुलाई खोप लगाइएको जानकारी दिनुभयो । उहाले अव आफ्नो वडा भित्र अपवाद बाहेक खोप लगाउन कुनै पनि गाईवस्तु बाकी नरहेको बताउनुभयो । हालसम्म वडा नं. ३ मा लम्प स्क्रीन रोगबाट १३ वटा गाईबस्तु मरेको बताउनुभयो । यसैगरी चन्द्रपुर नगरपालिका वडानं. २ मा पनि लम्प स्क्रीन विरुद्ध दु्रत गतिमा भ्याक्सिनेशनको काम भइरहेको छ । शुक्रवारदेखि शुरु भएको भ्याक्सीनेसनमा आइतवार सम्म करीव १७ सय गाईभैसी,पाडापाडी,बाच्छाबाच्छीलाई खोप लगाइएको छ । भ्याक्सिनेशनको काम ३ महिनाभन्दा बढीको पशुलाई मात्र लगाइने पशु सेवा प्राविधिक विधान कार्कीले बताए । वडा भित्र रहेका पशुलाई छिटोभन्दा छिटो भ्याक्सिन लगाउनका लागि पशु प्राविधिकहरु खटिएको कार्कीले जानकारी दिए । लम्प स्क्रीन रोगले विशेष गरी कमजोर, दुधदिने गाइबस्तु, बच्चा भएकोलाई बढी आक्रमण गर्ने भएकोले सोही समुहका गाईबस्तुको मृत्युदर पनि बढी रहेको बताए । वडा नं. २ मा करीव ६० वटा गाई भैसी सो रोगबाट मरेको उनको भनाई छ । लम्पस्क्रीन रोगलाई नियन्त्रण गर्नका लागि वडा कार्यालयले पशु सेवा अन्तर्गत बजेटको व्यवस्था गरि रोग नियन्त्रणका लागि युद्धस्तरमा काम गरिरहेको वडा अध्यक्ष दुत्त बहादुर थिङ(बुद्ध)ले जानकारी दिनुभयो ।

