सुब्बा कार्की
रौतहट । नेपाल सरकारले तयार पारेको नयाँ शिक्षा विधेयक प्रति असंतुष्टि जनाउँदै रौतहट लगायत देशै भरिका निजी विद्यालयहरु आन्दोलनमा उत्रिएका छन् ।
सरकारले विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका ल्याएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ ले निजी विद्यालयहरुलाई वेवास्ता गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
सोही क्रममा बिहीबार चन्द्रपुर नगरपालिका भित्र रहेका निजी विद्यालयको प्रतिनिधित्व गर्दै निजी तथा आवासिय विद्यालय संगठन ९प्याव्सन० चन्द्रपुर नगर कमिटीको नेतृत्वमा गएको निजी विद्यालयको सञ्चालकहरुको टोलीले नगर प्रमुख सञ्जय काफ्ले ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्रमा प्रस्तुत शिक्षा विधेयकको मस्यौदाको दफा ४ उल्लेख भएको निजी विद्यालयको स्थापना र सञ्चालनसम्बन्धी दफाको उपदफा ९३०मा प्रचलित कम्पनी कानुनबमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालय यो ऐन प्रारम्भ भएको मितिले पाँच वर्षभित्र शैक्षिक गुठीको रूपमा रूपान्तरण गरी सञ्चालन गर्नुपर्ने बुँदा हटाएर हालकै अवस्थाको हुनुपर्ने प्याव्सनका केन्द्रिय सचिब केबी थापाले जानकारी दिए ।
आफुहरुको मागको सुनवाइ नगरे साउन २८ गतेबाट रौतहट लगायत देशैभरीका निजी विद्यालयका अनिश्चितकालीन बन्द गर्ने प्याव्सन चन्द्रपुरका अध्यक्ष लोक श्रेष्ठले बताए । साउन २८ गते बिद्यालय बन्द लगायतका विरोधका कार्यक्रम गर्दा पनि माग सुनुवाई नभए भदौ १ गतेबाट विद्यालयका सवारी साधनहरू सार्वजनिक स्थलमा पार्किङ गर्ने लगायतका कडा संघर्षका कार्यक्रमहरु गर्ने श्रेष्ठले जानकारी दिए ।
सरकारले ल्याएको शिक्षा विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण गर्ने प्रावधानले शैक्षिक क्षेत्रमा निजी क्षेत्रको लगानीलाई निरुत्साहित गर्दै देशको शैक्षिक अवस्थालाईनै ध्वस्त पार्ने भएकाले यसलाई सरकारले सच्याउनु पर्ने निजी विद्यालयहरुका सञ्चालकहरुको माग रहेको छ ।
२८ गतेबाट विद्यालय बन्द भएमा देशैभर रहेका करिब ८ हजार निजी विद्यालयहरुमा अध्ययनरत ३० लाख विद्यार्थी पठनपाठनबाट बञ्चित हुने भएकाले सरकार आफुहरुको मागप्रति गम्भिर हुनुपर्ने प्याव्सन रौतहटकी कोषाध्यक्ष लक्ष्मी चौहान कार्कीले बताइन ।
उनले कम्पनीमा सञ्चालन भइरहेका शिक्षण संस्थालाई गुठीमा लैजाने प्रस्ताव गर्नु गैरकानुनी र संविधानविपरीत भएको भन्दै सरकारको यस्तो स्वेच्छाचारी निर्णय देशको शैक्षिक क्षेत्रमा दुरगामी नकारात्मक प्रभाव पर्ने दावी गरिन् ।
उनले यदी निजी विद्यालयहरु बन्द भएका नेपालबाट धेरै विद्यार्थीहरु विद्यालय तहको शिक्षा लिन भारत लगायतका मूलुकहरुमा पलायन हुने अवस्था सृजना हुने भन्दै यसबाट राज्यलाई ठुलो घाटा हुने बताइन् ।
नगर प्रमुख काफलेलाइ ध्यानाकर्षण बुझाउन माउन्ट एभरेष्ट आवासिय माबिका अध्यक्ष उमेश बास्कोटा,मुनलाइट एकेडेमीका प्रिन्सीपल श्याम किशोर चौधरी,चन्द्रपुर एकेडेमीका अध्यक्ष बसन्त आचार्य लगायतका चन्द्रपुरका निजि विद्यालयका संचालकहरुको सहभागिता रहेको थियो ।
