Friday, April 10, 2026

जनताको विश्वास नेकपा एकीकृत समाजवादीप्रति बढेको छ – अध्यक्ष नेपाल

ताजा / भरखरै प्राप्त

रौतहट खबर समाचारदाता
चन्द्रपुर ÷ रौतहट ः नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान अवस्थामा जनताको विश्वास नेकपा एकीकृत समाजवादीप्रति बढेको बताउनु भएको छ । एकीकृत समाजवादी पार्टीले शुरु गरेको मेची महाकाली समाजवादी जागरण अभियान अन्तर्गत आज रौतहटको चन्द्रनिगाहापुरमा रहेको हिमालय होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुदै अध्यक्ष नेपालले यो अभियानले नेपाली जनताको विश्वास जितेर हरेक स्थानमा उपस्थिति कायम गर्न सफल भएको बताउनुभयो । अध्यक्ष नेपालले अभियानको दौरानमा मधेश प्रदेशमा विशेष गरि आफ्नो पार्टीप्रति जनताको विश्वास कायम रहेको र भविष्यमा पार्टीले नेपाली जनताको लागि परिवर्तनको विगुल फुक्न सक्ने विश्वास समेत लिएको बताउनुभयो । यतिखेर देशमा धार्मिक,जातिय सदभावलाई विथोल्न खोज्ने प्रतिगामी शक्तिलाई पहिचान गरी त्यस्ता तत्वलाई कानुनी कठघरामा उभ्याएर जातिय सदभावलाई कायम राख्न समेत आग्रह गर्नुभयो । सदिऔंदेखि मिलेर बसेको समाजलाई केही प्रतिगामीले विगार्न नसक्ने भएकोले त्यसतर्फ पनि सवै सचेत हुनुपर्ने बताउनुभयो । उक्त पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले वर्तमान अवस्थामा गठबन्धनको विकल्प नरहेको बताउनुभयो । गठबन्धन सरकारले समाजवादी मोर्चा गठन गरेको र सो मोर्चामा आवद्ध हुन चाहने हरेक पार्टीलाई खुल्ला रुपमा स्वागत गरिने समेत बताउनुभयो । वर्तमान अवस्थामा देखिएको मुल्यवृद्धि लगायतको समस्याबाट जनता आजित भएको अवस्थामा जनताको पक्षमा काम गर्न सरकारलाई बारम्बार दवाव दिईरहेको बताउनुहुदै अध्यक्ष नेपालले कमजोर पार्टीको कुरा पनि गठबन्धनमा सुन्नमा कठिनाई भएकोले पार्टीलाई बलियो बनाउने अभियानमै आफुहरु लागेको बताउनुभयो ।
यो अभियानले जनतामा आफूले आशाको लहर देखेको बताउनुहुदै अध्यक्ष नेपालले जनताको उपलब्धि सिध्याउन लागेकाहरुको विरुद्धमा आफ्नो पार्टी सशक्त रुपमा लागेको बताउनुभयो । उनले धरानमा भएको घटना ,मलंगवा घटना र नेपालगन्जमा भएको घटनाबाट सबैले पाठ सिकेर होसियार हुन समेत आग्रह गर्नूभयो । आफ्नो पार्टीले देशको अर्थतन्त्रको नाजुक अवस्थाका विषयमा सरकारलाई २ पटक ज्ञापनपत्र बुझाएको स्मरण गर्नुहुदै हरेक किसिमले बढेको महंगी नियन्त्रणका लागि सरकारले तत्काल काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, केन्द्रिय उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष जयन्ती राई, महासचिव घनश्याम भुसाल लगायतको नेताहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम समाजवादी प्रेस संगठनका केन्द्रिय सल्लाहकार सदस्य प्रेमचन्द्र झाको अध्यक्षतामा सम्पन्न कार्यक्रम समाजवादी प्रेस संगठनका उपाध्यक्ष अस्मिता गिरीले संचालन गर्नुभएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles