रौतहट÷ यो दृश्य हेर्दा लाग्छ होला तपाईलाई यतिखेर कुहिरो लागेर सडक अध्यारो देखिएको होला ? तपाई झुक्किनु भयो– यो दृश्य हो आजभोली दैनिक चन्द्रपुर चोकदेखि बजारसम्मको सडकमा देखिएको धुलोको । रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत रहेको चन्द्रपुर गौर सडक खण्डको चन्द्रपुर चोकदेखि बजारसम्मको क्षेत्रमा यतिखेर व्यापक रुपमा सडक विस्तारको काम भइरहेको छ । ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालयकै निगरानीका काम भइरहेको छ तर पछिल्लो समय सडक डिभिजनको लापरवाही तथा ठेकेदार कम्पनीको अटेरीपनका कारण यतिखेर चन्द्रपुरका व्यापारीहरु ठूलो मर्कामा परेका छन् । फागुनको पहिलो हप्ता शुरु हुनासाथ मौसममा देखिएको परिवर्तन संग चल्न थालेको सामान्य हावाले यतिखेर चन्द्रपुर नगर धुलाम्ये भएको छ । ठेकेदार कम्पनीले सडकमा दैनिक पानी हाल्नुपर्ने भएपनि दिनको एक पटक मात्र पानी हाल्ने गरेको कारण सडक धुलाम्ये भएर राजमार्ग नजिकका पसलहरुको हरिविजोग बनाएको स्थानीय व्यापारी अभि घिमिरेले बताए । उनका अनुसार व्यापारीहरु यतिखेर अत्यन्त मारमा छन् । एक त आर्थिक मन्दी, अर्काे सडक निर्माणको काम सुस्त, त्यसमाथि पनि धुलाम्ये सडक । कसरी व्यापार गर्नु ? आक्रोशित हुदै घिमिरे भन्छन्– यस्तै अवस्था रहे हामी पसल बन्द गर्न बँध्य हुनेछौ । यतिखेर सामाजिक सञ्जालमा समेत चन्द्रपुर–गौर सडक खण्डका बारेमा विभिन्न व्यक्तिहरुले पोष्ट गरी ठेकेदार कम्पनी आश्रय निर्माण सेवा तथा सडक डिभिजन कार्यालयलाई लक्षित गरेको पाइन्छ । यतिखेर चन्द्रपुर नगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बासुदेव अधिकारी,वरुण साह, पंकज साह लगायत अन्यले पनि सडकको धुलाम्येका बारेमा पोष्ट गरेका छन् । यस्तै अवस्था भए भोलीदेखि व्यापारीहरु ठेकेदार, नगरपालिका र सडक डिभिजन कार्यालयका विरुद्ध उत्रन बाध्य हुने स्थानीय व्यापारी नविन कार्कीले बताए । नगरक्षेत्र भित्र काम भइरहेको र नगरवासीलाई प्रत्यक्ष असर पर्ने धुवा,धुलो हुदा समेत नगरपालिका समेत चुप लागेर बसेपछि झन नगरवासी समेत आक्रोशित भएका छन् । कर एक रुपैया छुट छैन, हाम्रो स्वास्थ्यमा यति गम्भीर किसिमले असर पर्दा समेत नगरपालिका कानमा तेल हालेर बस्न मिल्छ ? नगरवासी आक्रोशित भइरहेका छन् । हामीले यस बारे सम्बन्धित निकायलाई सोधेनौ किनकी यतिखेर जनता आक्रोशित भइरहेका छन्, आफ्नो कामदेखि सरोकार राख्ने निकाय बेखर भइरहेका छन् ।
