रौतहट खबर समाचारदाता
रौतहट÷मधेश प्रदेश सरकारका उद्योग,बाणिज्य तथा पर्यटन मन्त्री यूवराज भट्टराई (समिर) ले घरेलु तथा साना उद्योगको कार्यालय धनुषाको छड्के अनुगमन गर्नुभएको छ । आफनो मन्त्रालय मातहत रहेको कार्यालयबाट सेवाग्राहीलाई प्रवाह भएको सेवाको स्तर कस्तो छ भन्ने बुझ्नका लागि मन्त्री भट्टराई सहितको टोली घरेलु तथा साना उद्योग कार्यालय धनुषा पुगेको हो । घरेलु तथा साना उद्योगको कार्यालयबाट सेवाग्राहीले सहज सेवा नपाएको,कर्मचारीको व्यवहार र कार्यशैली चित बुझ्दो नभएको गुनासो मन्त्रालयसम्म पुगेपछि मन्त्री भट्टराई विहिबार सेवाग्राही बनेर उक्त कार्यालयमा पुग्नुभएको थियो । एक जना सेवाग्राही संग मन्त्री भट्टराईले मुखमा मास्क लगाएर घरेलु कार्यालयमा प्रवेश गर्नुभएको थियो । सेवाग्राहीसंंगै रहेका मन्त्रीले कार्यालयको सेवा प्रवाह र कर्मचारीको व्यवहार, कार्यालयको अवस्थालाई नजिकबाट हेर्दै हुनुहुन्थ्यो । अन्ततः मन्त्री भट्टराईले मुखको मास्क खोलेपछि कार्यालयका कर्मचारीहरुले उहालाई चिनेका थिए । मन्त्री भट्टराई आफै कार्यालयको सवै फाटमा पुगेर स्थलगत निरीक्षण गर्दा कार्यालयका कतिपय फाटमा काम गर्ने कर्मचारी कार्यालय समयमा उपस्थिति नरहेको मन्त्री संगै रहनु भएका झलक श्रेष्ठले बताउनुभयो । अनुगमनको क्रममा कार्यालय समयमा केहि कर्मचारी बिदामा बसेको तथा केही कर्मचारीहरु सरकारी पोसाक र परिचयपत्र नलगाई कार्यालय आउने गरेको भेटिएको थियो । मन्त्री भट्टराईले कार्यालयमा रहेका कर्मचारीको विवरण, हाजिरी भएका वा अनुपस्थित भएकाहरुको बारेमा जानकारी लिनुभएको थियो । सो क्रममा उहाले कार्यालयमा समयमा उपस्थित हुन, सेवाग्राहीको कामलाई प्राथमिकता दिदै अनावश्यक झन्झट नगर्न, अनुशासनको पालन गर्न र कार्यालयका कागजपत्रलाई राम्रोसंग राख्न निर्देशन दिनुभयो । आफु सेवाग्राही वनेर यस कार्यालयमा आउदा कमि कमजोरी देखिएको उल्लेख गर्दै उहाले यसलाई सुधार गरेर लैजान निर्देशन दिनुभयो । सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्न कानुनी रुपमा भएका झन्झट, उपलब्ध साधन स्रोतको पहुच र सेवाग्राहीको चापको विषयमा कार्यालयका कर्मचारीहरुबाट जानकारी लिनुभयो । यो प्रदेश सरकारसग जोडिएको निकाय भएकोले पनि यसको विषयमा हुने गरेको टिका टिप्पणीको अन्त्य हुनु पर्नेमा उहाले जोड दिनुभयो । उहाले कार्यालयमा आएको सेवाग्राहीसग पनि भलाकुसारी गर्नुभएको थियो । सेवाग्राहीसग सेवाको गुणस्तर र काम गराउन आउने दैरानमा भोग्नु परेको समस्याबारे जानकारी लिनु भएको सचिवालय सदस्य ध्रुव घिमिरेले जानकारी दिनुभयो । उहाले जनभावना बुझेर सेवा दिन कर्मचारीलाई निर्देशन समेत दिएको यूवा नेता घिमिरेले बताउनुभयो । सेवा प्रवाहमा कानुनी जटिलता भए प्रदेश सरकार त्यसलाई संशोधन गर्न पनि तयार रहेको बताउँदै सेवाग्राहीलाई सहज हुने गरी समयमै काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको उहाले उल्लेख गर्नुभयो । सम्भवतः मधेश प्रदेशमा उद्योग बाणिज्य तथा पर्यटन मन्त्रीको तर्फ बाट भट्टराईले नै कार्यालयको छड्के अनुगमन गर्नुभएको हो । यस अभियानलाई अगामी दिनमा समेत निरन्तरता दिने भट्टराई सचिवालयले जनाएको छ । मन्त्री भट्टराई हरेक जिल्लामा जाने क्रममा आफु मातहतका कार्यालयमा पुगेर सेवा प्रवाहको बारेमा सेवाग्राहीसंग जानकारी लिदै आउनु भएको छ ।
