रौतहट,२० असार÷ कटहरिया नगरपालिकालाई आफ्नो बपौती सम्झेका नगरप्रमुख र उपप्रमुख लगायत ११ जना विरुद्ध यतिखेर भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश, उपप्रमुख रीता देवी र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । कटहरिया नगरपालिका–२ जमुनिया बजारको सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा गरेको भन्दा धेरै काम देखाएर उपभोक्ता समितिलाई भुक्तानी दिएको आरोपमा अख्तियारले नगर प्रमुख, उपप्रमुख, नगरपालिकाका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेश प्रसाद यादव, कार्यापलिका सदस्य समिशबिक्रम शाह र मनोज प्रसाद जैसवाल, इन्जिनियर मो.मकसुद आलम, बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
आर्थिक वर्य २०७८÷०७९ मा सामुदायिक भवनमा टायल्स फ्लोरिङको काम उपभोक्ता समिति मार्फत गराइएको थियो । त्यस क्रममा भुक्तानी सिफारिस भएको नापी किताबमा १ हजार १९४.४१ वर्गमिटरमा टायल्स फ्लोरिङ भएको उल्लेख भए पनि फिल्डमा ७२०.८१ वर्गमिटर मात्र फ्लोरिङ भएको पाइएको अख्तियारको भनाइ छ ।काम भएको भन्दा ४७३.६० वर्गमिटर बढीमा फ्लोरिङ भएको देखाएर १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । भ्रष्टाचार मुद्दा दायर भएसँगै नगरप्रमुख अजयप्रकाश, उपप्रमुख रीता देवी, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, कार्यपालिका सदस्यहरु समिशबिक्रम साह र मनोजप्रसाद जैसवाल निलम्बनमा परेका छन् । विशेष गरी नगर प्रमुख अजय प्रकाशले देखाएको व्यवहार केटाकेटी जस्तै भएकै कारण नगरपालिका बदनाम समेत हुदै गएको छ । पैसाले चुनाव जितेका अजय प्रकाशले नगरवासीलाई वास्तै नगरी विकास निर्माण लगायत अन्य काममा समेत मनोमानी गरेको स्थानीयको गुनासो छ । चुनावको समयमा पैसाको खोला बगाएकै कारण चुनाव जितेको आरोप लाग्दै आएको छ । सोही रकम परिपूर्ति गर्न भ्रष्टाचारलाई प्राथमिकता दिएक ैकारण आज यो अवस्था आएको हो ।

