Friday, April 10, 2026

जनताको खबरदारी विना संविधान संकटमाः प्रचण्ड

ताजा / भरखरै प्राप्त

सिराहा÷नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको खबरदारी विना सविधान रक्षा संकटमा पर्ने बताएका छन् । नेकपा माओवादी केन्द्र मिचैया नगर समिति सिराहाले मंगलवार बिहान गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताको संघर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताएका हुन् । २०७० सालको निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिराहाको जनप्रतिनिधिको रुपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिराहाका जनतालाई धन्यवाद दिंदै उनले अब संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ सहयोग आवश्यक हुने बताए ।
संविधान जारी भएपछि मधेशका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गर्दै उनले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अत्यधिक प्रयत्न गरेको पनि बताए ।
‘जनताको बलिदानको जगमा निर्मित संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अत्यधिक प्रयत्न गरेको छ’, उनले भने, ‘संघीयतासहित समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तले सयौं वर्षदेखि उत्पीडनमा परेका जनतालाई अधिकार सम्पन्न बनाएको छ, अब यसको पूर्ण कार्यान्वयनमार्फत जनताको अवस्था बदल्ने बेला आएको छ, यसमा जनताको साथ सहयोग अपरिहार्य छ।’
अध्यक्ष प्रचण्डले पछिल्लो समय संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सबै जनताले र अझ बढी उत्पीडित समुदायले खबरदारी गर्नुपर्ने बताए ।
पार्टी प्रतिपक्षमा रहँदा पनि जनताका एजेण्डालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताका दैनिकदिनका समस्यादेखि संविधानको रक्षा र कार्यान्वयनसम्मका एजेण्डामा पार्टी जनतासँगै एकाकार भएर अघि बढ्ने बताए ।
त्यसअघि मंगलवार बिहान नै अध्यक्ष प्रचण्डले सिराहाको गोलबजारमा स्थानीयवासीसँग अन्तक्रिया गर्दै आफूले सुरू गरेका पूर्वाधार निर्माणको अवस्थाबारे जानकारी लिएका थिए । उनले गोलबजारवासीले विकास र सुशासनका विषयमा राखेको चासोलाई गम्भीरतापूर्वक लिएको बताउँदै समग्र मधेशी जनताका अधिकारको संघर्षमा सधैं साथमा रहने दृढता व्यक्त गरे । विकासको काममा हुने गरेको भ्रष्टाचारलाई कम गर्न सवै जनता चनाखो हुनुपर्ने समेत बताएका छन्

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles