रौतहट — संघर्ष युवा क्लब चन्द्रनिगाहपुरले आयोजना गरेको प्रथम चन्द्रपुर मेयर टी– २० लिग क्रिकेट टुर्नामेन्टको उपाधि भारतको मुजफ्फरपुरले जितेको छ । चन्द्रपुर–८ स्थित कोटीहोम खेल मैदानमा सोमबार भएको फाइनल खेलमा मुजफ्फरपुरले रौतहटको माधवनारायण नगरपालिकालाई ४५ रनले पराजित गरेको हो । टस जितेर पहिले व्यााटिङ रोजेको मुजफ्फरपुरले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३५ रन बनाएको थियो । मुजफ्फरपुरका लागि राजकुमारले ३२ बलमा सानदार ४० रन बनाए । इमरान नाजिरले २५ बल खेली २८ रन बनाए । माधवनारायणका बलर चन्दन ठाकुरले २४ रन खर्चेर ३ विकेट लिए । अभिराज यादवले २४ रन दिएर २ विकेट लिए । रन्जित यादव, दीपेन्द्र साह र सतिश यादवले एकरएक विकेट लिए । मुजफ्फरपुरले दिएको १ सय ३६ रनको विजय लक्ष्य पछ्याएको माधवनारायण १५ ओभरमा ९० रनमै सीमित भयो । मुजफ्फरपुरका बलरको कसिलो बलिङको सामुन्ने माधवनारायणका व्याट्सम्यान टिक्न सकेनन् । आशिष सिंहले २६ रन खर्चेर ४ विकेट, मयनक कुमारले १० रन खर्चेर २, मन्जय कुमारले २ र आशुतोष सिंहले १ विकेट हात पारे ।
माधवनारायणका चन्दन ठाकुर प्लेयर अफ सिरिज र रणवीर यादव बेस्ट ब्याटर भए । मुजफ्फरपुरका आदित्य कुमार बेस्ट बलर भए । मुजफ्फरपुरका राजाकुमार प्लेयर अफ द म्याच भए । विजयी टिम तथा उत्कृष्ट खेलाडीलाई चन्द्रपुर नगरपालिकाका मेयर सन्जय काफ्लेले ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा मेयर काफ्ले क्रिकेटको क्रेजलाई नगरपालिकाले नजिकबाट नियालेको बताए । प्रतियोगितामा जिल्लाका ६ पालिका र भारतका दुई टिम सहभागी रहेको देवराज कार्कीले बताए ।
