रौतहट÷ रौतहटको चन्द्रपुरमा रहेको मुनलाइट एकेडेमीले सोमबार अभिभावक सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । मुनलाइट एकेडेमीमा भएको कार्यक्रममा प्रमुख अतिथी चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र कुमार मण्डलले आगामी चैत्र ७ गतेदेखि शुरु हुन लागेको एसइइ परीक्षामा सामेल हुने सम्पूर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नूभयो । प्रमुख अतिथी मण्डलले मुनलाइट एकेडेमीले प्रदान गरेको शिक्षाको गुणस्तरकै कारण सवैको रोजाइ मुनलाइट हुन सफल भएको बताउनुभयो । शिक्षालाई व्यवहारिक ज्ञानसंग जोडेर अगाडि बढाउन सके त्यसले समाजलाई प्रतिफल दिने बताउनुभयो । कार्यक्रममा विद्यालय संचालक समितिका सदस्य विभु कुमार पोखरेलले अभिभावकको विश्वास जित्न सफल मुनलाइट प्रदेशमा समेत उत्कृष्ट रहेको बताउनुहुदै अझ शिक्षाको गुणस्तरमा ध्यान दिन समेत आग्रह गर्नुभयो । अभिभावक लक्ष्मी बुढाथोकीले मुनलाइट साच्चिकै विद्यार्थीहरुको भविष्यको लागि आमाको काखपछि, अर्काे पाठशाला भएको बताउनुभयो । नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्ली बहादुर कार्कीले शिक्षासंगै हरेक गतिविधिलाई प्राथमिकता दिएकै कारण मुनलाइट अभिभावकको पहिलो रोजाइ बन्न सफल भएको बताउनुभयो । अभिभावकले गरेको लगानीको प्रतिफल स्वरुप विद्यार्थीहरुले ल्याएको नतिजा त्यसको उदाहरण भएको बताउनुहुदै आउदै गरेको एसइइमा सवै विद्यार्थीहरुलाई राम्रो अंकका साथ उत्तीर्ण हुन शुभकामना दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका एकेडेमिक डाइरेक्टर दिपक घिमिरे,विद्यालय कोर्डिनेटर हरी कोइराला, विद्यालयका शिक्षक,शिक्षिका,अभिभावक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका प्राचार्य श्यामकिशोर चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

