चन्द्रपुर,१५ जेष्ठ÷चन्द्रपुर हस्पिटल प्रा.लिले चन्द्रपुर नगरपालिकालाई लक्षित गर्दै निशुल्क “आकस्मिक उद्धार सेवा” को औपचारिक सुरुवात गरेको छ । अस्पतालको सभाहलमा संचारकर्मीहरुलाई जानकारी दिने उद्देश्यले राखिएको कार्यक्रममा सवारी दुर्घटना, आगलागी, प्राकृतिक विपद् तथा अन्य आकस्मिक घटनामा पीडितलाई तत्काल उद्धार गरी तथा निःशुल्क प्रारम्भिक उपचार उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको जानकारी गराइएको छ ।
चन्द्रपुर अस्पताल प्रा.लि.का सञ्चालक तथा डा. सुभाष चौधरीले भन्नुभयो–“हामीले ल्याएको यो सेवा चन्द्रपुर क्षेत्रका लागि मात्र नभई सम्पूर्ण रौतहट जिल्लाका लागि एउटा नमूना बन्न सक्छ । मानव जीवनरक्षा हाम्रो पहिलो प्राथमिकता हो, त्यसैले हामी आवश्यक जनशक्ति, उपकरण र तालिममार्फत उद्धार टोलीलाई पूर्ण रूपमा सक्षम बनाएका छौं।” डा. चौधरीले राजमार्ग लगायताका स्थानहरुमा हुने गम्भीर प्रक्रियाका दुर्घटना तथा प्राकृतिक विपदको समयमा पीडितको समयमै उपचार भए ज्यान जाने सम्भावना न्यून हुने बताउनुभयो । उहाले यो विशुद्ध रुपमा मानवीय सेवाका लागि काम गरिएकोले यसलाई सवैले अपनत्व लिन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले चन्द्रपुर हस्पिटलले शुरु गरेको आकस्मिक उद्दार सेवाले सुरक्षा निकाय र स्वास्थ्य संस्थाबीचको उत्कृष्ट सहकार्यको उदाहरण रहेको बताउनुभयो । उहाले विपद, दुर्घटनाको समयमा सामान्य गल्तीका कारण पनि मानिसको ज्यान जान सक्ने भएकाले चिकित्सक सहितको आकस्मिक उद्दार टोलीले सम्भवत यस क्षेत्रमा पहिलो रहेको बताउनुभयो । प्रहरी नायव उपरिक्षक राईले विपद् व्यवस्थापन राज्यको एक्लो प्रयासबाट सम्भव हुदैन । यसका लागि साझा प्रयासले नागरिकको जीवनरक्षा सुनिश्चित गर्ने कुरामा महत्वपूर्ण योगदान रहने भएकोले यस्तो कार्य अन्यत्र पनि गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्कीले चन्द्रपुर हस्पिटल प्रा.लि.ले हरेक सामाजिक काममा आफ्नो उद्दारता देखाएको प्रति खुसी व्यक्त गर्दै आकस्मिक उद्दार सेवापनि समाजमा नमूना हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष वसन्त आचार्यले कार्यक्रम सञ्चालन गर्दै यस सेवाले चन्द्रपुर क्षेत्रलाई आपतकालीन अवस्थामा थप सुरक्षित बनाउने धारणा राख्नुभयो । कार्यक्रममा संचारकर्मीहरूको सक्रिय उपस्थिति थियो।
उक्त सेवा चन्द्रपुर अस्पतालको चिकित्सा तथा प्राविधिक टोलीको नेतृत्वमा इलाका प्रहरी कार्यालय चन्द्रपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट र चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सञ्चालनमा ल्याइएको हो । उद्धार टोलीलाई २४ सै घण्टा तयारी अवस्थामा राखेर घटनास्थलमै पुगेर घाइतेको प्रारम्भिक उपचार गर्नेछ र आवश्यक परेमा बिरामीलाई चन्द्रपुर वा बाहिरी अस्पतालसम्म सुरक्षित स्थातान्तरण गर्ने व्यवस्था मिलाइने कार्यक्रममा जानकारी गराईएको थियो ।
यो सेवा चन्द्रपुर र वरपर २० देखि २५ किलोमिटरको दायराभित्र प्रभावकारी हुने गरी डिजाइन गरिएको छ । स्थानीय स्तरमै यस्तो उद्धार सेवा सुरु हुने बताईएको छ । यसले चन्द्रपुर क्षेत्रलाई विपद् व्यवस्थापनमा आत्मनिर्भर बनाउने अपेक्षा समेत गरिएको छ । भविष्यमा एम्बुलेन्समै आकस्मिक उद्दार सेवाको अवधारण राखिएको समेत जानकारी गराइएको छ ।
