Friday, April 10, 2026

यात्री प्रशोधित पानीमा लेदो र किरा

ताजा / भरखरै प्राप्त

सुब्बा कार्की
रौतहट÷पछिल्लो समय गर्मी बढेसंगै पिउने पानीको समेत हाहाकार हुन थालेको छ । पिउने पानीको हाहाकार भएपछि विभिन्न कम्पनीका पानीहरु यतिखेर बजारमा प्रशस्त पाइन थालेको छ । नियमक निकायले समय समयमा बजार अनुगमन नगर्दा बजारमा गुणस्तरहीन पानी विक्री वितरण भइरहेको छ । पछिल्लो समय सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ८ सिस्नेरीमा रहेको ए.डि. वाटर एण्ड फुड वेभरेज प्रा.लि.ले बजारमा ल्याएको अक्वा कमलामाई यात्री प्रशोधित पानीमा लेदो तथा मच्छर भेटिएको छ । जनताको स्वास्थ्यलाई ख्याल गरी प्रशोधित गरी बजारमा ल्याइएको भनिएको उक्त यात्री प्रशोधित पानीमा मच्छर, लेदो भेटिनुले पानी कम्पनीको भनाई र गराईमा व्यापक फरक भेटिएको हो । यात्री पानी यतिखेर मधेश प्रदेशको रौतहट,सर्लाही,महोत्तरी लगायतका जिल्लाहरुमा विशेष विक्री वितरण भइरहेको छ । मानवजीवनसंग प्रत्यक्ष सरोकार राख्ने पानीमा देखिएको यतिठूलो लापरवाहीमा पनि स्थानीय प्रशासन,स्थानीय तह उदासिन देखिनु गम्भीर आपत्ती रहेको स्थानीयको भनाई छ । उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरेका अनुसार यतिखेर बजारमा प्रतिस्पर्धा गर्नकालागि विभिन्न कम्पनीका पानी विक्री वितरण भएपनि उनीहरुले उत्पादन,प्याकिङमा ध्यान नदिदा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको बताउनुभयो । बजारमा विक्री वितरण भइरहेको पानी गुणस्तरहीन भेटिदा समेत सम्बन्धित निकायले चासो नदेखाएको चन्द्रपुर नगरपालिका वडा नं. २ का स्थानीय दिनेश थापाको भनाई छ । यता इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख उप सचिव जनकराज पन्तले बजारमा भेटिएका लेदो,फोहर सहितको पानी खाद्य प्रवृधि तथा गुण नियन्त्रण कार्यालयमा परिक्षणका लागि पठाइने बताउनुभयो । ल्यावबाट गुणस्तर परीक्षण गरि रिपोर्ट नकरात्मक आए कानुनी कारवाही गरिने बताउनुभयो । उहाले सरकारले तोकेको मापदण्ड बाहिर गएर उत्पादन,विक्री वितरण गरे प्रशासनले त्यस्ता कम्पनीलाई कानुनी दायरामा ल्याउने बताउनुभयो । रौतहटको बजारमा विक्री वितरण हुदै आएको यात्री प्रशोधित पानीमा भेटिएको मच्छर,लेदोका बारेमा कम्पनीका संचालक अक्कल बहादुर भण्डारीले कामदारहरुको त्रुटीका कारण सामान्य गल्ती भएको स्वीकार गर्नुभएको छ । उहाले यस्तो गल्ती आगामी दिनमा नहुने प्रतिबद्धता जाहेर गर्नुभयो । यता केही दिन अघि जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारी नेतृत्वको अनुगमन टोलीले चन्द्रपुरमा सोझै धाराबाट पानी भरेर बजारमा सप्लाई गरिरहेको एक पानी कम्पनीलाई चेतावनी सहित कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको थियो । यस अघि चन्द्रपुरमा रहेको मुन ड्रप्स पानीमा समेत किरा भेटिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles