Friday, April 10, 2026

ओम शान्तिको आयोजनामा चन्द्रपुर लगायतका स्थानमा वृहत रक्तदान कार्यक्रम

ताजा / भरखरै प्राप्त

चन्द्रपुर,५ भाद्र÷राजयोगिनी दादी प्रकाशमणीको १८ औं पुण्य स्मृतिमा रौतहट लगायत देशैभर वृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र चन्द्रनिगाहपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी भाद्र ७ गते बिहान ७ बजेदेखि २ बजेसम्म ओमशान्ति भवनमा नेपाल रेडक्रस सोसाइटी रौतहटको प्राविधिक सहयोगमा वृहत रक्तदान कार्यक्रम सम्पन्न हुने बताइएको छ । कार्यक्रमलाई “विश्व बन्धुत्वको उदात्त भावना प्रवद्र्धन” गर्ने उद्देश्य सहित विश्वव्यापी स्तरमा सञ्चालन गर्न लागिएको हो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले सेवा विभागमार्फत आगामी भाद्र ६ देखि ९ गतेसम्म १ सय घण्टाभित्र १ लाख लिटर रक्त संकलन गर्ने लक्ष्य अनुसार रक्तदान गर्न लागिएको हो । सो रक्तदान कार्यक्रम नेपालमा मात्र नभई विश्वकै विशालतम् रक्तदान अभियान हुने अपेक्षा गरिएको छ । कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ओमशान्ति चन्द्रनिगाहपुर शाखाकी प्रमुख मैया बहनजीले रक्तदान जस्तो पवित्र कार्यमा सबैको सक्रिय सहयोगको अपेक्षा गरेको बताउनुहुदै सवैको सहयोगले मानवजीवन सहज हुने बताउनुभयो । उहाले रक्तदान जीवनदान भएकोले इश्वरको अनुकम्पाले रक्तदान सफल हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो । उहाले रक्तदानले जीवन बचाउनुका साथै समाजमा मानवता र बन्धुत्वको भावना जागृत गर्ने विश्वास व्यक्त गर्नुभयो । समाजलाई समृद्ध गर्न,मानव मानववीच सदभाव कायम गर्न पनि रक्तदान आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै, ओमशान्ति पर्सा, बारा र रौतहटका प्रमुख छोटेलाल भाईजीले रक्तदान समाजलाई प्रेरणा दिने अभियान भएकाले यसमा सबैलाई सहभागी हुन आग्रह गर्नुभयो । उहाले यस प्रकारका कार्यक्रमले अस्पतालहरूमा रगतको अभाव नहुने र आपतकालीन अवस्थामा जीवन बचाउन ठूलो मद्दत गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नेपालका पुर्व केन्द्रिय कोषाध्यक्ष एवम् समाजसेवी सपुत बहादुर कार्कीले रक्तदानले निरोगी जीवनको पहिचान बनाउन मद्दत गर्ने उल्लेख गर्दै अभियानलाई सफल बनाउन सबैलाई आग्रह गर्नुभयो । उहाले रक्तदानलाई पुण्यदायी र मानव जीवनप्रति जिम्मेवारीबोधको प्रतिकका रूपमा व्याख्या गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कुमार कार्कीले रक्तदान अभियानलाई समाजलाई मानवताको बाटोमा जोड्ने महत्वपूर्ण प्रयासका रूपमा व्याख्या गर्दै यस अभियानमा सञ्चारकर्मीहरूको समेत सक्रिय भूमिका रहने धारणा राख्नुभयो । उहाले हरेक कामले सकारात्मक उर्जा दिने भएकोले ओमशान्तिले गर्न लागेको रक्तदान जस्तो महान कार्यमा सवैको सहयोग हुने बताउनुभयो । पत्रकार सम्मेलनमा स्थानीय सञ्चारकर्मीको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ । रक्तदान अभियानलाई नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लब, विभिन्न विश्वविद्यालय, कलेज तथा सामाजिक संस्थाहरूको सहकार्यमा सञ्चालन गरिने र यसले हजारौँ मानिसलाई जीवनदान दिने अपेक्षा आयोजकले व्यक्त गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles