सुब्बा कार्की
रौतहट, ७ कार्तिक । मधेश प्रदेश सरकारद्धारा विश्वासको मत लिने तथा मन्त्रीमण्डल विस्तार लगायतका विषयमा सत्तापक्ष दलहरूको बैठक शुक्रवार सम्पन्न भएको छ । रौतहटको चन्द्रनिगाहपुरस्थित होटेल गोल्डेन व्याङ्क्वेटमा सम्पन्न सत्तारुढ दलहरु जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बसेको थियो । बैठकमा लोसपाका तर्फबाट मुख्यमन्त्री जितेन्द्र सोनल, जसपाबाट पार्टीका प्रमुख सचेतक रामाआशिष यादव, जनमत पार्टीबाट संसदीय दलका नेता महेश यादव, नेकपा एकीकृत समाजवादीबाट प्रमुख सचेतक कनिश पटेल तथा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता युवराज भट्टराई(समिर)को सहभागिता रहेको थियो । बैठकबारे गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता युवराज भट्टराई(समिर)ले बैठकले छठपछि सरकारले विश्वासको मत लिने जानकारी दिनुभयो । उहाले विश्वासको मत लिनका लागि सत्तारुढ दलहरु एकमत रहेको तथा अन्य पार्टीसंग पनि छलफल,संवाद चलिरहेको बताउनुभयो । उहाले राजनीतिक निकास तथा दिगो सरकारको लागि सवै दलहरु सहभागी भएर सरकार संचालन गर्नको लागि आफ्नो पार्टी सदैव उदारका साथ लागेको बताउनुभयो । संचारकर्मीको एक प्रश्नको जवाफ दिनुहुदै नेता भट्टराईले वर्तमान सरकार विश्वासको मत लिन सफल हुनेमा पूर्ण विश्वस्त रहेको बताउनुभयो । उहाले राजनीतिमा उतार चढाव भएपनि वर्तमान सरकार जनमुखी र विकासमुखी काम गर्नका लागि नै अगाडि बढेकोले विश्वासको मत पाउनेमा आफु पूर्ण रुपमा ढुक्क भएको बताउनुभयो । उहाले विश्वासको मत लिएसंगै सरकारले पनि पूर्णता पाउने बताउनुभयो ।
सोही कार्यक्रममा सहभागी एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक तथा बिना विभागीय मन्त्री कनिश पटेलले मन्त्रालयको भागवण्डा राजनीतिक दलहरुको आफ्नै कारणले ढिलो भएको तथा चाडपर्वले गर्दा समेत ढिलो भएकोले अव विश्वासको मतसंग सरकारले पनि पूर्णता पाउने बताउनुभयो । गत असोज २९ गते पाच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको लोसपा नेता जितेन्द्र सोनलले असोज ३० गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । उहाले जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेललाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो ।

