रौतहट,२८ मंसिर । यौन शोषणको आरोपमा पक्राउ परेका कटहरिया नगरपालिका–१ भसेढवाका वडा सदस्य सतलाल दास धरौटीमा रिहा भएपछि उक्त विषय पुनः विवादित बनेको छ। जिल्ला प्रशासन कार्यालय, रौतहटले दासलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गरेपछि राष्ट्रिय तत्मा समाज नेपाल, रौतहटले गम्भीर आपत्ति जनाएको छ ।
राष्ट्रिय तत्मा समाज नेपाल, रौतहटका अध्यक्ष रामबाबु दासले एक महिनाभित्र पीडितलाई न्याय नदिइए अदालत जाने चेतावनी दिनुभएको छ । उहाँका अनुसार सतलाल दासमाथि तीन सन्तानकी आमा तथा भसेढवाकी सुष्मिता दासलाई भगाई करिब नौ महिनासम्म यौन शोषण गरेको आरोप रहेको छ। पीडित र अभियुक्त दुवै विवाहित व्यक्ति हुनुहुन्छ ।
पीडित परिवारका अनुसार दासले सुष्मिताका श्रीमान वैदेशिक रोजगारीमा रहेको मौका छोपी झुटो प्रेमको नाटक गर्दै भगाउनुभएको थियो। पछि बाराको निजगढमा कोठा भाडामा लिएर आफूहरू श्रीमान–श्रीमती भएको भन्दै घरबेटीलाई झुक्याई लामो समय सँगै बसेको खुलेको छ ।
पीडितकी सासु घुनिया देवीले निजगढ पुगेर दुवैलाई फेला पारी प्रहरीलाई जानकारी दिनुभएको थियो । प्रारम्भमा राजनीतिक दबाबमा मुद्दा कमजोर बनाइएको आरोप लागेपछि दलित समुदाय आन्दोलनमा उत्रिनुभएको थियो । त्यसपछि पक्राउ परेका दास २४ दिन थुनामा बसेपछि धरौटीमा रिहा भएका हुन् । दासले सो महिलाबाट करिब १२ लाख नगद र पाँचकठ्ठा जग्गा समेत धितो राखेर बैंकबाट ऋण लिएको पीडित परिवारको दाबी रहेको छ । पीडित परिवार तथा तत्मा समाजले कडा कानुनी कारबाही र सम्पत्ति फिर्ताको माग गर्दै एक महिनाको अल्टिमेटम दिएको छ ।
