चन्द्रपुर /जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी चन्द्रपुर नगर कमिटी सहित सयौ जना नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् ।
आइतबार चन्द्रपुर नगरपालिका–४ स्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिएको हो ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रामकुमार भट्टराई लगायत नेताहरुले जसपा नेपाल चन्द्रपुर नगर कमिटीका अध्यक्ष फुल्चन राई, उपाध्यक्ष राम एकवाल साह, सचिव आशिष लामा लगायत करिब सयौं नेता तथा कार्यकर्ताले जसपा परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्ने नवप्रवेशित नेता तथा कार्यकर्ताहरूलाई अबिरको टीका र फूलको माला लगाएर स्वागत गरिएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य भट्टराईले अव सबैको भरोसा को केन्द्र नेपाली कम्युनिष्ट पार्टी रहेकोले सबै गोलबद्ध हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता युवराज भट्टराई (समिर), देवेन्द्र पटेल, शेख वाहिद अलि, देवकी नेपाल, एकराज थापा, वालकृष्ण श्रेष्ठ, राजु धामी लगायत सयौं नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य महिला नेतृ देवकी नेपालले गर्नु भएको थियो । कार्यक्रम को अध्यक्षता पार्टीका नेता टिका आचार्यले गर्नु भएको थियो ।
