रौतहट १६, माघ । २२ औं मुन खेलकुद सप्ताहको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । सहिद दिवसको अवसरमा मुनलाइट एकेडमीद्धारा आयोजित खेलकुद सप्ताहको प्रमुख अतिथी चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष निलहरी कोइरालाले दिप प्रज्ज्वलन गरि गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी वडा अध्यक्ष कोइरालाले विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाले अध्ययनसगै विद्यार्थीहरुलाई खेलकुदको माध्यमले समेत अनुशासित बनाउन मद्दत पुग्ने बताउनुभयो । अनुशासनले दक्ष जनशक्ति तयार हुन सहयोग पुग्ने बताउनुहुदै स्वस्थ्य र अनुशासीत जनशक्ति राष्ट्रको लागि अपरिहार्य रहेको बताउनुभयो । शुभकामना मन्तव्य राख्नुहुदै नेपाल पत्रकार महासंघ रौतहटका उपाध्यक्ष डिल्ली बहादुर कार्की(सुब्बा)ले खेलकुदले विद्यार्थीमा अनुशासन, सहकार्य र नेतृत्व क्षमता विकास गराउने उल्लेख गर्नुभयो । खेल जित्ने प्रमुख हतियार अनुशासन भएकाले अनुशासन नै खेलकुदका लागि आवश्यक रहेको बताउनुभयो । उहाले अनुशासन विनाको खेलकुद असम्भव भएकाले सवै विद्यार्थी भाईबहिनीहरुलाई अनुशासित भएर प्रतियोगितामा सहभागिता जनाउन आग्रह गर्नुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र थापा मगरले खेलकुद र नियमपालनबीच गहिरो सम्बन्ध रहेको बताउनुभयो । उहाले विद्यार्थीहरुले अनुशासनप्रति सदैव सचेत रहनुपर्ने भएकाले सवारी दुर्घटनामा कमी ल्याउन विद्यार्थीहरुलाई ट्राफिक सचेतना दिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा ई–सेवा मधेश प्रदेशका प्रतिनिधि भुवन आचार्यले विद्यालयस्तरमै खेलकुदलाई संस्थागत गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने धारणा राख्नुभयो । विद्यालयका संचालक तथा रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभु कुमार पोखरेलले खेलकुद स्वास्थ्यसंगै अनुशासनको प्रमुख आधार भएको बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्राचार्य श्याम किशोर चौधरीले राख्नुभएको थियो । उहाले शैक्षिक उपलब्धिसगै विद्यार्थीको सर्वा·ीण विकास विद्यालयको प्रमुख लक्ष्य रहेको बताउनुभयो । विद्यालयका कोर्डिनेटर दीपक घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रमको सभाध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद घिमिरेले गर्नुभएको थियो । खेलकुद सप्ताह एक हप्तासम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न खेल समावेश गरिएको विद्यालयका कोर्डिनेटर हरी कोइरालाले जानकारी दिनुभयो ।

