चन्द्रपुर,१९ माघ÷ रौतहटको चन्द्रपुर शान्तिनगरस्थित श्रीरामजानकी मन्दिरको प्रांगणमा श्रीमदवाल्मीकीय रामायण धान्याञ्चल महायज्ञ हुने भएको छ । श्रीमद्वाल्मीकीय रामायण धान्याञ्चल महायज्ञ २०८२ को आयोजनाका बारेमा जानकारी गराउन मन्दिर प्रांगणमा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
चन्द्रपुर नगरपालिका वडा नं. ४ र ६ मा अवस्थित शान्तिनगरस्थित श्रीरामजानकी मन्दिर परिसरमा आयोजना हुने उक्त महायज्ञको उद्देश्य मन्दिर पूर्वाधार विकास, अक्षयकोष स्थापना, पूजारी व्यवस्थापन तथा भविष्यमा गुरुकुल संचालनको लागि आवश्यक पुर्वाधारका लागि पनि महायज्ञको आयोजना गरिएको बताइएको छ । पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष शिव कोइरालाले माघ २१ गतेदेखि ९ दिनसम्म संचालन हुने महायज्ञका कार्यक्रमको बारेमा समेत जानकारी दिनुभयो । अध्यक्ष कोइरालाले महायज्ञ धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको अभियानका रूपमा सञ्चालन गरिने बताउनुभयो । महायज्ञमा श्रीमदवाल्मीकीय रामायणको सामूहिक वाचन, धार्मिक प्रवचन, भजन–कीर्तन तथा विविध आध्यात्मिक कार्यक्रमहरू सञ्चालन हुने जानकारी अध्यक्ष कोइरालाले बताउनुभयो । पत्रकार सम्मेलनमा श्रीरामजानकी मन्दिर क्षेत्र विकास समिति तथा श्रीवैष्णव परिषद् रौतहट, चन्द्रनिगाहपुरले स्थानीयवासी, भक्तजन, समाजसेवी तथा सरोकारवालाहरूलाई महायज्ञ सफल बनाउन सक्रिय सहभागिताका लागि आग्रह गरेको छ । महायज्ञको शुरुवात माघ २१ गते बिहान ८ बजे कलशयात्राबाट सुरु हुने महायज्ञ व्यवस्थापन समितिका सचिव श्यामहरी चौलागाईले जानकारी दिनुभयो ।
