चन्द्रपुर,२० माघ÷ नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रौतहट क्षेत्र नं. ४ का उम्मेदवार रामकुमार भट्टराईको चुनावी प्रचार प्रसारका लागि चन्द्रपुर नगरपालिका वडा नं. २ मा वडा स्तरीय भेला सम्पन्न भएको छ । पार्टीका केन्द्रिय सदस्य कल्याणी खड्काको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको वडा स्तरीय भेलामा पार्टीका केन्द्रिय सदस्य एकराज थापा, वडा नं. २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ, नगर कमिटी अध्यक्ष टिका आचार्य,नेता कृष्ण बहादुर खड्का,कमला ढकाल, विर्ख बहादुर घिसिङ, राम कुमार खड्का,संजीव कुमार कुश्वार माझी, सर्मिला सुनुवार परियार,उमाकान्त चौधरी लगायत सयौंको संख्यामा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । भेलाले आसन्न निर्वाचन वडास्तरमा प्रभावकारी बनाउनका साथै पार्टीका उम्मेदवार रामकुमार भट्टराईलाई जित दिलाउनका लागि आवश्यक कार्यहरु गर्नका लागि १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कमिटीको
इन्चार्जमा जितेन्द्र चौधरी,संयोजक नरहरी आचार्य र सहसंयोजक रामकुमार खड्का लगायत १ सय ५ सदस्यीय चयन गरिएको छ । कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै पार्टीका केन्द्रिय सदस्य एकराज थापाले नेपाली कम्युनिष्ट पार्टीले जितेका स्थानीय तहमा अनियमितता,भ्रष्टाचार नरहेकोले लगातार जित हासिल गरेको उदाहरण पेश गर्नुहुदै भ्रष्टाचार रहित समाजको परिकल्पना नै नेपाली कम्युनिष्ट पार्टीको रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथी पार्टीका केन्द्रिय सदस्य कल्याणी खड्काले नेपाली कम्युनिष्ट पार्टी जनताको पार्टी भएकाले जनताको हितमा सदैव काम गर्दै आएकोले पनि निर्वाचनमा जनताको मन जित्न सफल हुने विश्वास व्यक्त बताउनुभयो । उहाले शिक्षा,स्वास्थ्य,रोजगारी अहिलेको प्रमुख आवश्यकता भएकाले यसलाई समाधान गर्न नेपाली कम्युनिष्ट पार्टीको सरकार आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा वडाभरीका सयौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

